पाँच वर्ष अघि एक महिलाको हत्या गरी चोरी गरेका सुन खरिद गरेको आरोपमा प्रहरीले रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाबाट एक सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । खलंगाको तल्लोबजारमा रहेको नारायणि सुनचाँदी पसलका संचालक कृष्णबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । विश्वकर्माले ५ वर्ष अघि मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेकी ४६ वर्षिया आइती बुढाको हत्या गरी चोरी गरिएका सुन खरिद गरेको मृतकका श्रीमानले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
साउन २७ गते पक्राउ परेका विश्वकर्मालाई २८ गते आइतबार ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । आइतीको हत्या गरी सल्लेकी २३ वर्षिया सिर्जना बुढा बोहराले सुनको कानबाली चोरेर सुनचाँदी व्यवसायी विश्वकर्मालाई विक्रि गरेको अनुसन्धानबाट खुलेको डिएसपी भट्टराईले बताउनुभयो । बिना विलको सुन किनेको र प्रमाण नष्ट गरी अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले विश्वकर्मालाई पक्राउ गरी मुद्दा चलाएको हो ।
सिर्जनालाई सल्लेकै ५२ वर्षिया हस्तमाली बुढाथोकीको हत्या आरोपमा पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । दुवै घटनाको प्रकृति एकै भएपछि प्रहरीले सिर्जना माथि ५ वर्ष अघिको आइती हत्या काण्डको समेत अनुसन्धान सुरु गरेको थियो । जसबाट आइती हत्यामा पनि सिर्जनाकै संलग्नता खुलेको प्रहरीले जनाएको छ । दुवै घटनामा थप अनुसन्धान चलिरहेको प्रहरीको भनाई छ ।।