Kakhara सबैको खबर सम्पूर्ण खबर
मलेसियामा मृत्यु भएका त्रिवेणी ७ का भरतको परिवारलाई सयोग प्रदान
मृतककी श्रीमतिलाई सहयाेग रकम हस्तान्तरण गरिदै ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ घर भई रोजगारीको लागि मलेसियामा ज्यान गुमाएका २६ वर्षीय भरतकुमार ओलीको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । ओलीको परिवारलाई घरमै पुगेर युवाहरुको सहयोगबाट उठाएको झण्डै ८३ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । वैदेशिक रोजगारमा गएका युवा, स्थानीय र कर्मचारीहरुको सहयोगमा आज मृतकको घरमै पुगेर ८२ हजार ९ सय ३८ रुपैयाँ हस्तान्तरण गरिएको सहयोग अभियानका एक सदस्य त्रिवेणी गाउँपालिकाका सव इन्जिनियर महेन्द्र ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आफु र पालिकामा कार्यरत सव इन्जिनियर खिमबहादुर ओलीको नेतृत्वमा उक्त सहयोग रकम जम्मा गरेर मृतक परिवारलाई हस्तान्तरण गरिएको हो । परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले स्थानीय लगायत अन्य व्यक्तिरुले पनि सहयोग गरेको बताइएको छ । यसअघि पनि सहयोग अभियान मार्फत चार लाख ५९ हजार चार सय रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण गरिएको थियो  ।

भरतको साउन १७ गते मलेसियाको सेलाङगरस्थित बान्तिङ भन्ने स्थानमा आफ्नै कोठामा मृत्यु भएको थियो । भरत एक महिना अगाडी मात्र मलेसिया जानुभएको थियो । भरतको शव मलेसियाबाट घरमा ल्याएर अन्त्यष्टि गरिसकिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update