Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा १ वर्षमा साढे ५४ लाख लिटर दुध उत्पादन, प्रोत्साहन पाएपछि उत्पादन बढाउँदै किसान 

रुकुम पश्चिममा अघिल्ला वर्षहरु भन्दा वितेको आार्थिक वर्ष दुध उत्पादनमा वृद्धि भएको छ । वितेको आर्थिक वर्ष २०७९/०८० मा मात्रै जिल्लामा ५ हजार ४ सय ४४.६ मेटिक टन अर्थात ५४ लाख ४४ हजार ६ सय लिटर दुध उत्पादन भएको छ । दुधमा प्रतिलिटर ५ रुपैयाँका दरले किसानलाई प्रोत्साहन स्वरुप रकम उपलब्ध गराएपछि जिल्लामा दुध उत्पादन वृद्धि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार वितेको आर्थिक वर्षमा ४५ जना दलित, ४६ जना जनजाति र अन्य ५ सय ४० गरेर ६ सय ३१ जना किसानले प्रोत्साहन पाएका छन् । दुध संकलन केन्द्र, डेरी र पशु अस्पताल तथा पशु सेवा कार्यालयमा निवेदन दिएका ६ सय ३१ जना किसान लाभाम्वित भएका हुन् । दुध बिक्रि गरेका आधारमा किसानले ८ सय ७५ रपैयाँ देखि ४५ हजारसम्म प्रोेत्साहन रकम पाएको शर्माको  भनाई छ । 

पशु अस्पताल तथा पशु सेवा कार्यालयले प्रतिलिटर ५ रुपैयाँका दरले प्रोत्साहन स्वरुप किसानको खातामा रकम पठाएको छ । प्रोत्साहन वाफत ६ सय ३१ जना किसानले ३५ लाख ५८ हजार रकम प्राप्त गरेका छन् । जिल्लामा उत्पादन भएको केही दुध खलंगा, सोलावाङ लगायतका स्थानीय बजारमा खपत हुन्छ । बाँकी दुध रुकुम पूर्व, सल्यान, नेपालगञ्ज समेत जाने गरेको छ । 

जिल्लाको मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा किसानहरुले राम्रो दुध उत्पादन गर्ने गरेकामा तुलनात्मक रुपमा आठबीसकोट नगरपालिका र बाँँफिकोट गाउँपालिकामा भने कम दुध उत्पादन भइरहेको शर्माले बताउनुभयो । 

दुध संकलन केन्द्र, डेरी, पशु अस्पताल तथा पशु सेवा कार्यालयमा उपलब्ध विवरण अनुसार जिल्लामा ५ हजार ४ सय ४४.६ मेट्रिक टन अर्थात ५४ लाख ४४ हजार ६ सय लिटर दुध उत्पादन भएको देखिन्छ । गाउँमै उत्पादन भएर गाउँमै खपत भएको रेकर्ड भने नभएकाले यो भन्दा धेरै दुध जिल्लामा उत्पादन हुने गरेको कार्यालयको भनाई छ । 

किसानलाई दुधमा प्रोत्साहन उपलब्ध जिल्लामा अघिल्ला वर्षहरु भन्दा २.६३ प्रतिशतले दुध उत्पादनमा वृद्धि भएको पशु अस्पताल तथा  पशु सेवा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update