Kakhara सबैको खबर सम्पूर्ण खबर
सडक छेउका मापदण्ड विपरितका संरचना ३० दिनभित्र हटाउन मुसिकोट नगरपालिकाको निर्देशन

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले बजार क्षेत्रका सडक छेउ आसपासमा मापदण्ड विपरित निर्माण गरिएका भौतिक संंरचना हटाउन निर्देशन जारी गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै मापदण्ड विपरित निर्माण गरिएका घर, टहरा घुम्ती हटाउन निर्देशन दिएको हो । नगरपालिकाले एक महिनाको समय दिएर सडक छेउमा निर्माण भएका भौतिक संरचना घर, टहरा, घुम्ती हटाउन अनुरोध गरेको छ ।

राप्ती लोकमार्ग अन्तर्गत सेरिगाँउ, बागबजार, खलंगा, मठ र सल्लेसम्मको सडक आसपासमा मापदण्ड विपरित निर्माण गरिएका घर, टहरा, घुम्ती लगायतका भौतिक संरचना हटाउन ३० दिनको समय तोकिएको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले बताउनुभयो ।

सडक छेउका मापदण्ड विपरितका भौतिक संरचनाले सडक दुर्घटना बढ्नुका साथै पैदल यात्रीलाई आवतजावतमा समस्या भएकाले बजार क्षेत्र व्ययवस्थित गर्न नगरकार्यपालिकाको निर्णय अनुसार मापदण्ड विपरितका संरचना स्वस्फुर्त रुपमा हटाउन ३० दिनको समय दिइएको उहाँको भनाई छ ।    

तोकिएको समयमा उक्त संरचना नहटाएमा कानुन बमोजिम कार्वाही हुने नगरपालिकाले चेतावनी समेत दिएको छ । साथै बजार क्षेत्र भित्रका सडक छेउका घरहरुको छतबाट सडकमा पानी आई पैदल यात्रुहरुलाई असर परिरहेको हुँदा छतबाट बग्ने पानीलाइ सडकमा नपर्ने गरी व्यवस्थापन गर्नपनि नगरपालिकाले अनुरोध गरेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update