Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकाले लक्ष भन्दा बढी राजस्व उठायो 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा राजस्वको लक्ष पुरा गरेको छ । नगरपालिकाले गत वर्ष १०४.५० प्रतिशत प्रगति हासिल गरेको छ । गत वर्ष नगरपालिकाले २ करोड २२ लाख आन्तरिक राजस्व संकलनको लक्ष राखेको थियो । 

तर लक्ष भन्दा बढी २ करोड ३२ लाख ७ सय ४६ रुपैयाँ राजस्व संकलन भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यो लक्ष भन्दा १० लाख ७ सय ४६ रुपैयाँ बढी हो । आन्तरिक राजस्वमा १०४.५० प्रतिशत प्रगति हासिल भएको उहाँको भनाई छ । 

त्यस्तै प्रदेश सरकारलाई बुझाउनुपर्ने दहत्तर बहत्तरसहितको विभाज्य कोषमा ४० लाख लक्ष्य तोकिएकोमा ४८ लाख २९ हजार ३८५ राजस्व संकलन गरिएको छ । आन्तरिक राजस्वतर्फ विभाज्य कोष सहित कुल २ करोड ८० लाख ३० हजार १ सय ३१ रुपैयाँ राजस्व संकलन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । 

नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ८० लाख ४५ हजार १ सय ६३ रुपैयाँ राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७९/०८० मा त्यो भन्दा अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ लाख ५५ हजार ५८३ रुपैयाँ बढी राजस्व संकलन भएको ढकालले बताउनुभयो । उहाँका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २८.५७ प्रतिशतले बढी हो । 

व्यापार व्यवसाय दर्ता तथा नवीकरण, नगर वस, घरजग्गा रजिष्ट्रेसन,  ढुङ्गा, गिट्टी, वालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन, सेवा शुल्क वापतको रकमबाट राजश्व संक्लन हुने गरेको छ । भू–उपयोग वर्गीकरण गर्नुपर्ने व्यवस्थाका कारण भू उपयोग वर्गीकरणमा समय लागेका कारण घरजग्गा रजिष्ट्रेशनको काम वैशाख महिनादेखि मात्र सुरु भएको बताइएको छ । 

बाह्रै महिना घर जग्गा रजिष्ट्रेशनको काम सञ्चालन हुन सकेको भए झनै बढी राजस्व संकलन हुने नगरपालिकाको भनाई छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update