रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेका स्थानीयले प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन् । सल्लेकी ५२ वर्षिया हस्तकली बुढाथोकीको हत्या अनुसन्धानमा छिट्टै सफलता प्राप्त गरेको भन्दै स्थानीयले प्रहरी प्रशासनलाई धन्यवाद दिएका हुन् । आज स्थानीयको हस्ताक्षर सहितको धन्यवाद पत्र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई बुझाइएको छ ।
प्रतिनिधिमुलक रुपमा आएका स्थानीयले जिल्ला प्रशासन कार्यालयमा पुगेर धन्यवाद पत्र बुझाएका हुन् । हस्तकलीको हत्या सहित ५ वर्ष अघिको सल्लेकै ४६ वर्षिया आइती बुढाको हत्यामा समेत प्रहरीले सफलता प्राप्त गरेकोले थप प्रोत्साहनको लागि स्थानीयको तर्फबाट धन्यवाद ज्ञापन गरिएको स्थानीय टेकबहादुर कुसारीले जानकारी दिनुभयो ।
१ सय ६१ जना स्थानीयको हस्ताक्षर सहितको धन्यवाद पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको उहाँले बताउनुभयो । ५ वर्ष अघि र अहिले भएको हत्यामा संलग्न भएको भन्दै प्रहरीले सल्लेकै २३ वर्षिया सिर्जना बुढा बोहरालाई पक्राउ गरेको छ । दुवै घटनामा सिर्जनाकै संलग्नता रहेको प्रहरीको भनाई छ ।
दुवै घटना चोरीका लागि भएको र हत्या पछि चोरी गरिएका गहना खरिद गरेको आरोपमा खलंगा बजारका दुई जना सुनचाँदी व्यवसायीलाई पनि प्रहरीले पक्राउ गरेको छ । धन्यवाद ज्ञापनका साथै घटनाका दोषिलाई कडा कारवाहीको समेत माग गरिएको स्थानीय डम्बर थापाले जानकारी दिनुभयो ।
समाजमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि दोषिलाई कडा भन्दा कडा कारबाहीको माग गरिएको उहाँले बताउनुभयो ।