वन डिभिजन कार्यालय रुकुम पश्चिमले भदौ १ गते देखि सामुदायिक वनमा सुशासन कार्यक्रम सञ्चालन गर्ने भएको छ । भदौ १ गते देखि वन डिभिजन कार्यालयले जिल्लाका सबै सामुदायिक वनहरुमा सुशासन कार्यकम सञ्चालन गर्न लागेको हो । सामुदायिक वनमा सुशासन कार्यक्रम कार्यान्वयनका लागि डिभिजन वन कार्यालयका कर्मचारी, सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी, सरोकारवाला सहितको समुह जिल्लाका प्रत्यक वडावडामा पुग्ने डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामुदायिक वनमा सुशासन कार्यक्रम कार्यान्यवनका लागि सव डिभिजन वन कार्यालय तथा वडा कार्यालयहरुमा सम्पर्क गर्न जिल्लाका सबै सामुदायिक वन उपभोक्ता समितिलाई भनिएको छ । यो कार्यक्रम अन्तर्गत वडाबाटै सामुदायिक वन उपभोक्ता समुहको वार्षिक लेखा परिक्षण, वार्षिक प्रगति प्रतिवेदन, म्याद समाप्त भएका सामुदायिक वन उपभोक्ता समुहको वन कार्ययोजना नविकरण कार्यक्रम सञ्चालन हुने छन् ।
त्यस्तै सामुदायिक वन उपभोक्ता समुहको अभिलेख व्यवस्थापन, समुहहरुको आमभेला तथा अवधि सकिएकाको हकमा कार्य समिति पुनर्गठन लगायतका कार्यक्रम सञ्चालन गरिने निमित्त प्रमुख परियारले बताउनुभयो । कार्यक्रममा सहभागी नहुने तथा तोकिएको समयभित्र नियम अनुसारका कागजातहरु पेश नगर्ने सामुदायिक वन उपभोक्ता समुहहरुलाई कानुन बमोजिम कार्वाही हुने उहाँको भनाई छ ।