Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रद्धारा साढे २८ लाख बक्यौता असुल

विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले साढे २८ लाख बक्यौता रकम असुल गरेको छ । वितेको आर्थिक वर्ष २०७९/०८० मा केन्द्रले २८ लाख ५५ हजार ७ सय १९ रपैयाँ बक्यौता उठाएको हो । १ सय ५४ ग्राहकबाट उक्त बक्यौता असुल गरिएको वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद साहले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्राधिकरणकोे नियम अनुसार समयमै महसुल नबुझाउने १ सय ८४ ग्राहकको लाइन काटिएको थियो । जसमा १ सय ५४ ग्राहकले तिर्न बाँकी महशुल बुझाएपछि उक्त ग्राहकको काटिएको लाइन जडान गरिएको छ । ३० ग्राहकले भने अझै बक्यौता रकम नबुझाएकाले लाईन जडान गरिएको छैन् ।

लाईन काटिएपछि उक्त रकम उठेको केन्द्र प्रमुख साहको भनाई छ । अझै गत आर्थिक वर्षको ३० ग्राहकबाट ६ लाख ७१ हजार ३ सय ८३ बक्यौता रकम उठ्न बाँकी रहको उहाँले बताउनुभयो । 

यसैविच केन्द्रले एक वर्षमा साढे ४ करोड बढी महशुल उठाएको छ । जिल्ला भरमा रहेका ग्राहकबाट विद्युत खपत वाफत वितेको वर्ष ४ करोड ५८ हजार ७ सय १३ रुपैयाँ महशुल उठेको वितरण केन्द्रका लेखापाल माधवप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार एक आर्थिक वर्षमा झण्डै ४४ लाख युनिट विद्युत विक्री भएको छ ।  जिल्ला भर ४४ लाख ९४ हजार ८ सय ८० युनिट विद्युत बिक्रि भएको उहाँको भनाई छ । 

त्यस्तै एक वर्षको अवधिमा ३ हजार ४ सय ४ जना नयाँ ग्राहक थपिएका छन् । सोही अनुसार वितरण केन्द्रबाट मिटर बक्स पनि बिक्रि गरिएको छ । वितरण केन्द्रले १९.१५ प्रतिशत चुहावट कम गर्ने लक्ष्य लिएकोमा ११.०७ प्रतिशत सफलता हात पारेको केन्द्रले जनाएको छ । 

हाल जिल्लाभरमा नेपाल विद्युत प्राधिकरणका १७ हजार ६ सय ८७ ग्राहक रहेका छन् । जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रशारण लाइन विस्तार भएको छ । तर जिल्लाका दुर्गम धेरै वस्तीहरुमा भने विद्युतिकरण गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update