नेकपा माओवादी केन्द्रले संचालन गर्न लागेको ‘जनतासंग माओवादी विशेष रुपान्तरण’ अभियानका लागि नेताहरुको कार्यविभाजन गरेको छ । केन्द्रीय सदस्यहरुलाई जिल्ला जिल्लामा पठाइएको छ । जसअनुसार रुकुम पश्चिमको इन्चार्जका रुपमा गगन खड्का ‘जीवन’लाई तोकिएको छ । जाजरकोटका खड्काले रुकुम पश्चिमको इन्चार्जको जिम्मेवारी पाउनुभएको हो ।
रुकुम पश्चिमका गोपाल शर्मा ‘अनल’लाई दैलेखको इन्चार्ज बनाइएको छ भने बसन्तकुमार शर्मा ‘कुशल’लाई जाजरकोटको जिम्मेवारी दिइएको छ । सल्यानको इन्चार्जमा नरेश भण्डारी, सुर्खेतको इन्चार्जमा महेन्द्रबहादुर शाही र बिन्दमान बिष्ट, डोल्पाका लागि नरबहादुर बिष्ट, कालिकोटका लागि टेकबहादुर बस्नेत, जुम्लाका लागि छिमी लामा, मुगुका लागि गोमा गौतम कँवर र हुम्लाका लागि झकबहादुर मल्ललाई इन्चार्ज तोकिएको छ ।
पार्टीले प्रदेश इन्चार्जको जिम्मेवारी भने मात्रिकाप्रसाद यादवलाई दिएको छ । काठमाडौंमा साउन १७ गते देखि २१ गतेसम्म ५ दिन चलेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले तीन महिने ‘जनतासंग माओवादी विशेष रुपान्तरण’ अभियान चलाउने निर्णय गरेको थियो ।
यो अभियान भादौ १६ गते उद्घाटन भई तीन महिनासम्म संचालन हुने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोका ‘सचिन’ले जानकारी दिनुभयो । यो अभियानले पार्टी रुपान्तरण हुने विश्वास माओवादी केन्द्रले लिएको छ ।
यो अभियानमा पार्टीका सबै नेता कार्यकर्ताहरु खटिने माओवादीले जनाएको छ । अभियान अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सात प्रदेशका सात वटा वडामा पुग्ने कार्यक्रम बनेको छ ।