Kakhara सबैको खबर सम्पूर्ण खबर
श्रृङ्गार किन गरिन्छ ?

सुदाम शर्मा 

मानिसको सुन्दरतासँगै ठाउँको पहिचान खुल्ने भएकोले शृंगारले देश ठाउँको वास्तविकता झल्काउने गर्दछ । त्यसैले हाम्रो देश नेपालमा पनि परापूर्व कालदेखि श्रृंगारलाई महत्व दिँदै आएको देखिन्छ । देवी देवताहरूको पालादेखि चल्दै आएको देखिन्छ । शरीरलाई सु–सज्जित गराउने अर्थमा लिइन्छ । सोह्र श्रृंगार शरीरको स्वच्छतादेखि श्रृंगार एवं मुस्कान, शारीरिक हाउभाउको संयोजन मानिन्छ । यसमा मेहेन्दी, आभूषण, केस–विन्यास देखि मुस्कानसम्म पर्छ । महिलाहरूलाई विवाह, पर्व र मांगलीक कार्यमा श्रृगारको भूमिका हुन्छ । यो शौभाग्य र सुन्दरताको महत्वपूर्ण कडी हो । यो परिवार र समाजको एक परिचय पनि हो ।  

यी हुन् सोह्र श्रृङ्गारहरू
१–स्नान 
श्रृंगारको पहिलो महत्वपूर्ण कार्य मानिन्छ । यो श्रृंगारको पहिलो चरण हो । कुनै पनि मानिसले श्रृङ्गार भन्दा पहिले आफ्नो शरीरमा भएका नराम्रो गन्ध वा फोहरलाई स्नानले शुद्ध गराउँछ । स्नान गर्न अमला, हलेदो, सर्सू प्रयोग गर्न उपयुक्त मानिन्छ । स्नान गर्नु अगाडि महको लेप लगाउँदा छालालाई नरम र मुलायम बनाउन सकिन्छ तर आजभोली विभिन्न साबुन र स्याम्पु प्रयोग गरी स्नान गरिन्छ । 

२–वस्त्र
मानिसले आफ्नो सुन्दरता देखाउन र कुरुपतालाई लुकाउन प्रयोग हुने विभिन्न रंग र प्रकारका कपडाहरु प्रयोग गर्ने गरिन्छ । जसले मानिसलाई सुन्दरता प्रदान गर्ने गर्दछ । मानिसहरूले लगाउने कपडाले उसको व्यक्तित्व बुझाउने हुनाले वस्त्रलाई श्रृंगारको मुख्य अंशको रुपमा लिने गरिन्छ । 

३–सिरफूल 
टाउकोमा लगाइने सून वा चाँदीबाट बनेको रत्न जोडिएको वस्तु हो । यसले नारीको टाउकोमा शोभायमान बनाउने गर्दछ । जसरी यसले टाउकोको सुन्दरता प्रदान गर्दछ । 

४–सिन्दुर
महिलाको शालीनता र सद्भाव युक्त जीवनको प्रतिक हो । सिन्दुर पति आयुसंग जोडिएको हुन्छ । त्यसैले यस्तो सिन्दुर टाउकोमा सिउँदो बनाएर लगाइन्छ । आफ्नो पतिको दीर्घ जीवनको लागि लगाउँने गरिन्छ । सिन्दुरले अटल र सुन्दर परिवारको लागि अगाडि बढ्ने प्रेरणा दिने गर्दछ ।

५–टिकुली (बिन्दी) 
महिलाको आज्ञा चक्रमा लगाउने वस्तुलाई टिकुली भनिन्छ । टिकुली एउटा प्रकाशको प्रतिक हो । महिला घरको प्रकाश दिने स्रोत हुन् । जस्तै एउटा चन्द्रमाले शीतलता र मधुरता दिने गर्दछ । त्यस्तै सूर्यले प्रकाश र न्यानोदिने काम गर्दछ । त्यस्तै महिलाले माथमा लगाएको टिकुलीले परिवारमा मधुरता र प्रेम प्रदान गर्छ । त्यसैले एउटा विवाहित नारीले सौन्दर्यतासंग टिकुली जोडिएको हुन्छ ।

६–गाजल  
नारीले आँखाको सुन्दरता वढाउन लगाउने कालो लेप लाई गाजल भनिन्छ । यो महिलाको आँखाको सुन्दरता बढाउने र मांगलिक दोषलाई निवारण गर्नको लागि आँखामा प्रयोग गरिन्छ । यसले आँखामा शितलता ल्याउने काम गर्ने गर्दछ । यसले परिवारमा भएको नकारात्मक दोष निवारण गर्छ भन्ने विश्वास छ ।  
७–मेहेन्दी
मेहेन्दीले हातको सुन्दरता बढाउनुको साथै पतिको दीर्घ जीवनको कामना गर्दछ भन्ने जन विश्वास छ । यसले हाम्रो हातमा भएको नकारात्मक ऊर्जालाई हटाउने गर्दछ ।

८–चुरा 
चुरा सुहागको प्रतीक मानिन्छ । जस्तोसुकै ठक्कर दिँदा पनि मधुर ध्वनि निस्कने गर्छ । रातो रङ्गको चुरा खुसी र हरियो रङ्गको चुरा समृद्धिदायक मानिन्छ ।
 
९–मंगल सूत्र 
आफूभित्र रहेको धागाको त्यान्द्रो रहेसम्म सुन्दरताले भरिपूर्ण हुने गर्दछ । त्यसैले यसको मुख्य कार्य भनेको घर र माईती पक्षको सम्बन्ध सुमधुर बनाउन प्रयोग गरिन्छ । त्यसैले यसलाई बिवाहको सुरुमा दुलाहाले दुलहीलाई लगाइदिने चलन छ ।

१०–औंठी 
सुन वा चाँदीको धातुबाट निर्मित वस्तु हो । यो साईली औंलामा लगाइन्छ । जसरी यसको सम्बन्ध औंला संग हुन्छ । त्यसरी नै व्यक्तिको सम्बन्ध पति, पत्नी, परिवार र समाजमा हुने विश्वास छ । त्यसैले स्वयंवर मा दुलाहाले दुलहीलाई र दुलहीले दुलाहालाई लगाइदिने चलन छ । 
 
११–नथीया(फूली)

नाकमा लगाउने सुनको गहना हो । यो नाक छेडेर सुन्दरताको लागि लगाइने पहिरन हो । आफ्नो मनलाई बसमा राख्दै सन्तान र परिवारका लागि संघर्ष गर्न सक्ने सन्देश यसले दिने गरेको छ ।

१२–कानबाली 
कानमा लगाउने गहना हो । यसले कानको सुन्दर प्रदान गर्दछ । कानमा आउने असंख्य नराम्रो कुराहरुलाई दूर राख्दै परिवारमा र सामाजको लागि उचित सम्बन्ध दिलाउने काम कानबालीको हो । यसले परिवारलाई नराम्रो कुरादेखि टाढा गराउँछ । यसको पहिरनबाट राहु र केतुको दोष पनि निवारण हुन्छ भन्ने विश्वास रहिआएको छ ।

१३–करा 
चुरा जस्तै महिलाले नाडीमा लगाउने सुन वा अन्य धातुबाट निर्माण भएको गहना हो । यसलाई महिलाको लागि महत्वपूर्ण शृंगार सामग्रीको रुपमा हेरिन्छ । जस्तोसुकै चोट र ठक्कर खाँदा पनि मौनता रहन कराले सिकाउँछ  । त्यस्तैगरी जस्तोसुकै दैनिक जीवनमा ठक्कर खाँदा पनि ठक्कर सँग जुध्दै उचित निर्णय गर्न कराबाट प्रेरणा पाउन सकिन्छ, अथवा परिवारसँग हरेक ठक्करमा मुस्कुराउने कुरा सिकाउ छ ।

१४–पटुकी
महिलाको कम्मरमा साडीलाई अड्याउन प्रयोग हुने धातु वा कपडाबाट बनेको वस्तुलाई पटुकी भनिन्छ । साडी र कम्मरलाई अडेस दिने काम पटुकीले गर्दछ । त्यसरी नै परिवार र माइतीको सम्बन्ध राख्न पटुकी सरी एक असल नारीले भूमिका खेल्नुपर्छ । पटुकीले साडीलाई अठ्याएजस्तै घरपरिवार र माइतीसंग सम्बन्ध राख्ने काम गर्नुपर्छ ।

१५–पायल 
चाँदीबाट बनेको खुट्टामा लगाउने झुम्का सहितको गहना हो । यसले मधुरता प्रदान गर्छ । यसले हरेक समस्याको सामाधान मधुरताबाट निवारण गर्न प्रेरणा दिन्छ । महिलाको हिँडाइको थर्काइमा पनि सुमधुर आवाज निकाली वरपर मधुरता छर्ने कार्य पायलले गरेझैं हरेक नारीले जस्तोसुकै अवस्थामा पनि पाउजुले जस्तै मधुरता  प्रदान गर्न सक्नुपर्दछ । 

१६– बिछिया 
खुट्टाको औंलाको सुन्दरताको लागि लगाइदिने चाँदी वा पित्तलबाट बनेको गहना हो । यसलाई खुट्टाको औँलामा लगाइन्छ । यसले हर समस्याको सहज रुपमा समाधान गर्न प्रेरणा दिन्छ भन्ने विश्वास छ । 

अहिले यसका साथै नारी सौन्दर्यका लागि थुप्रै श्रृंगारका सामग्रीहरू प्रयोग गर्ने गरिएको छ । यी मध्ये नङ पालिस, लिपिस्टिक जस्ता आधुनिक श्रृगार सामग्री र रङ्गहरुको प्रयोग गरिएको पाइन्छ । त्यस्तै विभिन्न प्रकारका आधुनिक खालका वस्तुहरूको प्रयोग गरी शृंगार गर्ने गरिन्छ । तर परापूर्वकालदेखि चल्दै आएको सोह्र श्रृंगारहरु चन्द्रमा का सोह्र कलासंग सम्बन्धित छन् । जस्तै सोह्रौं दिनमा चन्द्रमाको शौन्दर्य देखिन्छ त्यसरी नै श्रृंगार गरेकी नारी सुन्दर देखिन्छिन भन्ने विश्वास छ ।

लेखक मुसिकोटको न्यु मुन लाइट सेकेण्डरी बोर्डिङ स्कुलमा नेपाली शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update