रुकुम पश्चिममा पशुहरुमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान सुरु गरिएको छ । शनिबार एक कार्यक्रमका विच मुसीकोट नगरपालिका वडा नम्बर ४ को थापाचौरका बसन्त गिरीले पालेका भैंसीलाई खोप लागाएर जिल्लामा खोरेत रोग विरुद्धको खोप अभियान सुरु गरिएको हो । खोप अभियान जिल्लाका ६ वटै पालिकामा एक हप्तासम्म संचालन हुने पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
एक हप्ताको अभियानमा जिल्लाभर ५० हजार पशुलाई खोरेत विरुद्धको खोप दिने लक्ष्य राखिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार एक हप्ताको समयमा जिल्लाभर ५० हजार पशुलाई खोप दिने लक्ष्य राखे पनि बाँकी रहेका पशुलाई भदौ मसान्तसम्म खोप दिईने छ ।
गाई, गोरु, भैंसी, बाक्रा, भेडा, र बङ्गुरलाई खोरेत रोग नलागोस भनेर खोरेत विरुद्धको खोप अभियान सुरु गरिएको हो । शनिबार मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकामा खोप अभियान सुरु भएको छ । बाँकी ३ पालिका आठबीसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा आजबाट खोप अभियान सुरु भएको निमित्त कार्यालय प्रमुख शर्माले बताउनुभयो ।
जिल्लामा खोरेत विरुद्धको ५० हजार मात्रा खोप उपलब्ध भएको छ । खोप अपुग भएमा कर्णाली प्रदेश सरकारसंग माग गर्ने पशु अस्पताल तथा पशु सेवा कार्यालयका पशु प्राविधिक रिमबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार जिल्लामा सुरु भएको खोरेत विरुद्धको खोप अभियानमा खोपकर्ताहरु किसानको घर घरमै पुगेर सेवा दिने छन ।
खोपको मात्रा १ पटक दिए पुग्ने उहाँको भनाई छ । जिल्लामा अहिलेसम्म खोरेत रोग भने देखिएको छैन । गत वर्ष ५० हजार पशुलाई खोरेत विरुद्धको खोप दिइएको थियो । जिल्लामा कुखुरामा लाग्ने रानीखेत, बाख्रामा लाग्ने पिपिआरको खोप पनि यसै वर्ष संचालन हुने पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
एक कार्यक्रमका विच खोप अभियान सुरु भएको हो । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख विमलकुमार पुन, पशु अस्पताल तथा पशु सेवा कार्यालयका नि.प्रमुख ज्ञानुकुमार शर्मा लगायतको उपस्थिति रहेको थियो ।