रुकुम पश्चिमको नुवाकोटबाट दाङ तल्सीपुरका लागि छुटेको हाइस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दाङ प्रादेशिक अस्पलाल तुल्सीपुरमा उपचारको क्रममा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ११ का ६० बर्षिय कमारो कामी र सल्यान जिल्ला दार्मा गाउँपालिका वडा नम्वर २ का ३६ बर्षिय खुमबहादुर भनिने ओम्पत खत्रीको उपचारको क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य घाईतेको उपचार भैरहेको छ ।
घाईते हुनेहरुमा सल्यानको दार्मा गाउँपालिका २ का ६० वर्षिय खिर्म खत्री, सोहि स्थानका ४१ वर्षिया रुपा केसी, रुकुम पश्चिमकी ४० बर्षिया बिमला देवी पुन, सल्यानको दार्मा गाउँपालिका २ का ५१ वर्षिय टिकाराम केसी, उहाँको छोरा १८ वर्षिय मानबहादुर खत्री, सोहि गाउँका रमेश केसी रहेका छन् ।
त्यसैगरी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ७ का ५० वर्षिया गौमती खड्का, सानीभेरी गाउँपालिका ११ का २६ वर्षिय पुस्कर रसाईली, चौरजहारी नगरपालिका वडा नम्वर १२ का ४६ वर्षिय पलबहादुर खड्का, चौरजहारी नगरपालिका १४ का १८ वर्षिया माया मगर रहेको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिनुभयो । त्यस्तै रुकुम पश्चिम चौरजहारी नगरपालिका १४ की १६ बर्षिया निर्मला राना, सल्यानको दार्मा गाउँपालिका ५ की १६ वर्षिया रमिता चन्द, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ११ का २० बर्षिय भुपाल बिक, दार्मा गाउँपालिका १ का ३२ वर्षिय ईन्द्रबहादुर केसी घाईते हुनुभएको छ ।
घाईते मध्य रुपा केसी, बिमला देवि पुन र रमेश केसीको अवस्था गम्भिर रहेको बताईएको छ । घाईतेहरु सबैको उपचार प्रादेशिक अस्पताल तुलसीपुर दाङमा भईरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ आगरखोलामा लु २ ख ५७३१ नम्बरको हाइस आज दिउँसो दुर्घटना भएको हो ।
हाइस सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो। गाडी चालक सल्यान जिल्लाका दार्मा गाउँपालिका वडा नम्बर १ का २३ वर्षिय एक्कबहादुर चन्द फरार रहेकाले खोजी भईरहेको प्रहरीको भनाई छ ।