कृषि विकास कार्यालय रुकुम पश्चिमले ५० प्रतिशत मुल्य अनुदानमा किसानलाई आलुको वीउ वितरण गर्ने भएको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै किसानलाई ५० प्रतिशत मुल्य अनुदानमा आलुको वीउ वितरण गर्ने भएको हो । आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार व्यवसायीक आलु खेती प्रवद्र्धन कार्यक्रमको लागि ५० प्रतिशत मुल्य अनुदानमा आलुको वीउ वितरण गर्न लागिएको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार व्यवसायीक रुपमा आलु खेती गर्ने कृषि समूह, सहकारी र निजी फर्महरुले आवश्यक कागजात सहित भदौ ७ गतेसम्म आवेदन दिनुपर्ने छ । कार्यालयले आलु उत्पादन हुने क्षेत्र तोकेर सोही ठाउँका किसानलाई वीउ वितरण गर्न लागेको हो । कार्यालयका अनुसार मुसिकोट नगरपालिका वडा नम्बर २ रातामाटा, वडा नम्बर ३ छेडा, माछ्मी, वडा नम्बर ४ सोलावाङ, घुरिखोला, दलाखेत, वडा नम्बर ५ सेरिगाउँ, वडा नम्बर ६ झुलखेत, झिजा, वडा नम्बर ७ गोतलीबाङ्ग, दिग्दर्शनमा आलु उत्पादन राम्रो हुने भएकाले उक्त क्षेत्रलाई वीउ वितरणका लागि तोकिएको छ ।
त्यस्तै मुसीकोट नगरपालिकाकै वडा नम्बर १२ जमारु, वडा नम्बर १३ काउलेचौर, सादनचौर चौतारा र वडा नम्बर १४ को खेताकुना, लोरीबाङ्ग, झिमडारा लगायतका स्थानहरु पनि आलुको वीउका लागि तोकिएको निमित्त कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो । अन्य २ पालिका सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा पनि वीउ वितरण हुने उहाँको भनाई छ ।
सानीभेरी गाँउपालिकाको वडा नम्बर ३ को भलाचौर, मुलपानी, पिर्रेतरा, वडा नम्बर ७ को फुक्रु, सहरे, वडा नम्बर ८ को आमडाँडा, डलसिङे, कोल र वडा नम्बर ९ को हाँसिबाङ, सिम्ली लगायतको क्षेत्र तोकिएको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को छिनखेत, बालुवाचौर र बिराले लगायतका क्षेत्र वीउ वितरणकको लागि तोकिएको छ । कार्यालयले आलुको वीउ माग गर्दा समूह/सहकारी र फर्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी, समूह सहकारीको निर्णयको प्रतिलिपी, निवेदन, समूह/सहकारीका सदस्यहरुको नागरिकताको प्रतिलिपी सहित आवेदन दिन अनुरोध गरेको छ ।