पत्रकार प्रचण्ड खत्रीमाथि हातपात भएको छ । प्रेस सेन्टर नेपाल रुकुम पश्चिम बाँफिकोट गाउँपालिकाका अध्यक्ष, संगठनको जिल्ला समन्वय समिति सदस्य तथा मध्यान्ह दैनिकमा कार्यरत पत्रकार खत्रीमाथि बाँफिकोट गाउँपालिका ४ छिनखेतका मेडिकल व्यवसायी लक्ष्मण शाहीले हातपात गरेका हुन् । आफुले संचालन गरेको सिस्ने हिमाल मेडिकल हलको फोटो समाचारमा राखेको भन्दै मेडिकल संचालक शाहीले आज दिउँशो पत्रकार खत्रीमाथि हातपात गरेका हुन् ।
हातपातका साथै ज्यान मार्ने धम्की दिएको र आफुले प्रयोग गर्दै आएको मोबाइल खोसेर फाल्दिएको पत्रकार खत्रीले बताउनुभयो । यसैविच प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले घटनामा संलग्न शाहीलाई कारबाहीको माग गरेको छ । खत्रीमाथि हातपात भएको र ज्यान मार्ने धम्की दिएको घटनाले संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै दोषिलाई कानुन बमोजिम कारबाही गर्न माग गरेको हो ।
अनुगमनको समाचारमा आफ्नो मेडिकलको फोटो प्रयोग गरेको भन्दै शाहीले पत्रकार खत्रीमाथि हातपात गर्नुका साथै ज्यान मार्ने धम्की दिएको तथा मोबाइल खोसेर फाल्दिएको घटना सिंगो प्रकारितामाथिको हमला हो भन्ने हाम्रो संगठनको ठहर छ, संगठनका अध्यक्ष देवकुमार ओलीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्ने बाटो हुँदा हुँदै पनि पत्रकारमाथिको हमला प्रेस स्वतन्त्रता माथिकै हमला हो, पत्रकार खत्रीप्रति गरिएको हातपातको घोर भत्र्सना गर्दै दोषि उपर कडा कारबाहीका लागि प्रहरी, प्रशासन समक्ष जोडदार माग गर्दछौं, विज्ञप्तीमा भनिएको छ । त्यस्तै प्रेस सेन्टर नेपाल मुसिकोट नगर समितिले पनि विज्ञप्ती जारी गर्दै दोषिलाई कारबाहीको माग गरेको छ ।