रुकुम पूर्वको भूमे गाउँपालिकाको वडा नम्बर ८ कुचिबाङमा ग्राभिटी गुड्स रोपवे निर्माण गरिएको छ । रुकुम पूर्व अर्गानिक जिल्ला हो । रुकुम पूर्वका कृषकले उत्पादन गरेका कृषि उपज ओसारपसारका लागि भूमे गाउँपालिका वडा नम्बर ८ को कुचिबाङमा रोपवे निर्माण गरी संचालनमा ल्याइएको हो । यूकेएडको आर्थिक सहयोग र प्राक्टिकल एक्सन विकास डी–कोष समाज को प्रविधिक सहयोगमा रोपवे निर्माण गरिएको हो ।
वडा नम्बर ८ को स्थानीयवासीको आवश्यकतालाई मध्यनजर गर्दै भूमे गाउँपालिकाको समन्वयमा कुचिबाङ–काडाबगर गुड्स रोपवे निर्माण गरिएको प्राक्टिकल एक्सनका देवदत्त भट्टले जानकारी दिनुभयो । वडा नम्बर ४ को काडाबगरबाट वडा नम्बर ८ को कुचिबाङ जोड्ने ग्राभिटी गुड्स रोपवे १ हजार १ सय ४४ मिटर लामो छ । उचाई भने ४ सय ८४ मिटर रहेको छ ।
४८ लाख ६८ हजार ६ सय ४७ रूपैयाँ लागतमा निर्माण भएको रेपवेमा स्थानीयले ५ लाख ३६ हजार २ सय ५६ रुपयाँको श्रमदान गरेको रोपवे व्यवस्थापन समितिका अध्यक्ष झलक रोकाले जानकारी दिनुभयो । ग्राभिटी गुड्स रोपवेबाट वडा नम्बर ८ को कुचिबाङ, छमाल्ने, माल्लुङ, झिम्काका कृषकले उत्पादन गरेका कृषि उपज बजारसम्म पर्याउन सहज भएको छ ।
कुचिबाङबाट काडाबगरसम्म एकपटकमा ९० किलो र काडाबगरबाट कुचिबाङ ३० किलो सामान ओसारपसार गर्न सकिने रोपवे व्यवस्थापन समितिका अध्यक्ष रोकाले बताउनुभयो । सामान ओसारपसार गर्न वढीमा ३ मिनेट लाग्ने उहाँको भनाई छ ।
रोपवे निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । स्थानीय जीवन सुनारले रोपवे निर्माण भएपछि अव कृगि उजप बजारसम्म पुरयाउन सहज हुने बताउनुभयो । ‘पहिले हामीले उत्पादन गरेका वस्तु रुकुमकोट बजारसम्म पुर्याउन ५ घन्टा भारी बोकेर हिड्नु पथ्र्यो, अब यो समस्या समाधान भएको छ । ३ मिनेटमै सामान सडकसम्म पुगेपछि हामी खुसी छौं, उहाँले भन्नुभयो ।’
उत्पादन भएका फलफूल बजारसम्म पुर्याएर बजार देखि दैनिक उपभोग्य दाल, चामल, तेल लगायतका सामान ओसारपसार गर्न सजिलो भएपछि स्थानीय हर्षित भएका हुन् । एक कार्यक्रमका विच रोपवेको बुधबार उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनले रोपवेको उद्घाटन गर्नुभएको हो । भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सांसद पुनको प्रमुख आतिथ्यता रहेको थियो ।