जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको ६ महिनाको अवधिमा गरेको प्रगती विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० को फागुन देखि हालसम्म गरेका कामको प्रगति विवरण सार्वजनिक गरिएको हो । ६ महिनाको अवधिमा जिल्लामा विभिन्न अपराधिक गतिविधिमा संलग्न ९५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टइले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशका १० वटा जिल्लाहरु मध्ये विभिन्न गतिविधिमा संलग्न प्रतिवादीलाई पक्राउ गर्नेमा जिल्ला प्रहरी कार्यालय रुकुुम पश्चिम पहिलो भएको उहाँको भनाई छ । पक्राउ भएकाहरुबाट ६ महिनाको अवधिमा १४ लाख २१ हजार राजस्व संकलन गरिएको छ । जिल्लामा आफु आएपछि लागु औषध सम्बन्धी ६ सय ५८ वटा भिडिओ प्रदर्शनी मार्फत सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।
यसै अवधिमा मुसिकोट ८ को घोरखानीमा वेवारिसे अवस्थामा जगंलमा राखिएका २५ वटा बन्दुक पनि बरामद गरिएको छ । वडा नम्बर ७ बाट पनि बन्दुक बरामद गरिएको छ । ६ महिनाको अवधिमा आठबीसकोट नगरपालिकाको स्यालाखदीमा २ दिन लगाएर १ सय ५ रोपनीमा लगाएको अफिम नष्ट गरिएको छ । जगंलको विचमा अफिम खेती गर्ने गरेको, आसपासको क्षेत्रमा मानिसको वसोवास नहुने भएकाले खेती कसले गर्यो भनेर पत्ता लगाउन भने चुनौती रहेको उहाँको भनाई छ ।
जिल्लामा सुरक्षित कर्णाली प्रदेश कार्यक्रम अन्तरर्गत झण्डै साडे ३८ हजार घर मध्ये २० हजार घरमा अपराध न्युनिकरण गर्न प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँसिएको छ । बाँकी घरमा स्टिकर टाँस्ने क्रममा रहेको प्रहरीले जनाएको छ । यसै अवधिमा मुसिकोट नगरपालिका ३ छेडाका लोकबहादुर खत्रीको कुकुरको सहायताले शव फेला पार्नु, मुसिकोट नगरपालिका वडा नम्बर ४ मा बस्दै आएकी मुसीकोट ९ की एक महिलालाई पेट्रोल छर्किने प्रयास गर्ने व्यक्तिलाई तत्काल पक्राउ गर्नु, मुसिकोट ८ घोर्खानीका ७४ वर्षीय जितबहादुर बुढाको हत्यामा संलग्न ६ जनालाई पक्राउ गर्नु, सल्लेमा हस्तकलीको हत्यामा संलग्न महिलाई कुकुरको सहायताले पत्ता लगाई तत्कालै नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाउनुलाई जिल्ला प्रहरी कार्यालयले मुख्य उपलब्धीका रुपमा लिएको छ ।