रुकुम पश्चिममा परम्परागत लाखे नाच आजबाट सुरु हुँदै छ । हरेक वर्षको गाँठेमंगल देखि सुरु हुने यो नाच श्रीकृष्णाष्टमीको भोलीपल्टसम्म चल्ने लाखे नाच संरक्षण समितिका उपाध्यक्ष केवश नेपालीले जानकारी दिनुभयो ।
आजबाट श्रीकृष्णाष्टमीको भोलीपल्टसम्म खलंगा, बागबजार, शेरिगाउ, सल्ले लगायतका बजार क्षेत्रमा हरेक दिन नाच देखाइने छ । श्रीकृष्ण सहित राक्षसको स्वरुपमा वनाइने खप्पर, कालिकाको वस्त्र सहित व्यक्तिलाई श्रृंगारेर नचाउने गरिन्छ ।
कंसलाई कुखुरा भोग दिएर सुरु हुने लाखे जात्रा श्रीकृष्णाष्टमीको भोलीपल्ट कंसलाई नै मारेर समापन गर्ने गरिन्छ । बोकालाई कंस मानेर बलि दिएपछि लाखे नाचको औपचारिक समापन भएको मानिन्छ । जात्राको अन्तिम दिन सदरमुकाम खलंगामा मेला लाग्छ ।
खलंगाको बहराटाकुरामा मेला लाग्ने गर्दछ । जात्रा सुरु भएदेखि खलंगा सहित अन्य बजार क्षेत्रमा हरेक दिन नाच देखाउने गरिएकामा भने अन्तिम दिन बराहटाकुरामा मेला सहित नाच देखाउँदै लाखे मारेर यो जात्राको औपचारिक समापन गर्ने गरिन्छ ।
द्धापरयुगको अन्त्यतिर वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा जन्मिएका श्रीकृष्णले कंसलाई मारेको सम्झनामा रुकुम पश्चिममा २०४० साल देखि हरेक वर्ष लाखे जात्रा मनाउदैं आएको लाखे नाच संरक्षण समितिका उपाध्यक्ष नेपालीले बताउनुभयो ।
भगवान कृष्णलाई मार्न कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरुपमा सजिएर जिल्लामा हरेक वर्ष लाखे नाच्ने परम्परा रही आएको छ ।