चालु आर्थिक वर्षको लागि रुकुम पश्चिममा साढे ४ हजार क्विन्टल आयोडिनयुक्त नुन आएको छ । जिल्लाको चौरजहारी वितरण केन्द्र र मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँ डिपो कार्यालयमा गरेर यो आर्थिक वर्षका लागि साढे ४ हजार क्विन्टल नुन उपलब्ध भएको हो । जिल्लामा एक वर्षमा झण्डै ८ हजार क्विन्टल नुन आवश्यक रहेपनि ४ हजार ५ सय क्विन्टल नुन मात्र उपलब्ध भएको डिपो कार्यालय सेरीगाउँका प्रमुख पूर्णराज गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार डियो कार्यालय सेरीगाउँमा ३ हजार ७ सय क्विन्टल र वितरण केन्द्र चौरजहारीमा ८ सय क्विन्टल आयोडिनयुक्त नुन उपलब्ध भएको हो । टेन्डर प्रक्रिया मार्फत नेपालगञ्जबाट केही नुन जिल्लामा आइसकेको र केही आउने क्रममा रहेको उहाँको भनाई छ । गत आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा जिल्लामा नुनको कोटा घटेर आएको छ ।
नुनको कोटा घट्दा जिल्लामा ६–७ महिना पछि नुनको समस्या हुने सम्भावना देखिएको कार्यालय प्रमुख गौतमको भनाई छ । चौरजहारी नगरपालिकामा गत आर्थिक वर्ष १ हजार क्विन्टल नुन आएको थियो । भने यो आर्थिक वर्षमा कोटा घटेर ८ सय क्विन्टल नुन उपलब्ध हुँदा ३ महिना नुन पुग्न मुस्किल देखिएको उहाँको भनाई छ । गत वर्ष चौरजहारी वितरण केन्द्रमा १ हजार क्विन्टल र सेरीगाउँ डिपोमा ५ हजार १ सय क्विन्टल नुन उपलब्ध भएको थियो ।
तर नुन सकिएपछि वितरण केन्द्र र डिपो कार्यालयमा २ महिना नियमित नुन बिक्रि रोकिएको थियो । अब नुन उपलब्ध भएपछि भने साविककै हप्ताको दुई दिन सोमबार र बिहिबार नुन बिक्रि सुरु हुने डिपो कार्यालय प्रमख गौतमको भनाई छ ।