Kakhara सबैको खबर सम्पूर्ण खबर
‘आर्थिक चलखेलको व्यापक जनगुनासोपछि परीक्षा रोकेको हुँ, कर्मचारी कुटेकाे होइन’
नगर उपप्रमुख बिमलकुमार पुन ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका उपप्रमुख बिमलकुमार पुनले कर्मचारी माथि हातपात गरेको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको बताउनुभएको छ । आज आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै उपप्रमुख पुनले नगर शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख नरेन्द्र ओलीमाथि हातपात गरेको भन्दै मिडियामा आएको खबरको खण्डन गर्नुभएको हो । 

आफुले आज तोकिएको त्रिभुवन जनता मावि खलंगाको शिक्षक र कृषि प्राविधिकको परीक्षा रोक्न भनेको तर शाखा प्रमुख ओलीमाथि हातपात नगरेको उहाँले स्पस्ट पार्नुभएको छ । आर्थिक चलखेलको व्यापक जनगुनासो आएको र परीक्षा संचालनका विषयमा आफुलाई कुनै जानकारी नभएकोले परीक्षा रोक्न अनुरोध मात्र गरेको उहाँको भनाई छ । 

‘नगरपालिकाले शिक्षक, कर्मचारी नियुक्ति गर्ने प्रक्रियामा व्यापक जनगुनासो छ, लाखौं पैसा लिएर शिक्षक, कर्मचारी राख्ने गरिएको गुनासो व्यापक रुपमा छ, यसपटक पनि सोही गुनासो मैले सुनें, परीक्षा रोक्नुहोस् यसमा थप छलफल आवश्यक छ भन्दा उहाँहरुले मान्नुभएन, त्यसपछि म केही ठुलो स्वरले बोलेको त हुँ तर हातपात भने गरेको होइन’ उहाँले भन्नुभयो । 

आर्थिक चलखेल र आफ्ना मान्छेहरुलाई अवैधानिक रुपमा नियुक्त गर्नका लागि परीक्षा संचालन गर्न लागिएको उहाँले आरोप लगाउनुभयो । ‘यसअघि संचालन भएका परीक्षामा पनि व्यापक रुपमा आर्थिक चलखेलको गुनासो आएको छ, उहाँले भन्नुभयो–अहिले पनि आर्थिक चलखेल र आफ्ना मान्छेलाई राख्नेगरी अवैधानिक रुपमा परीक्षा संचालन गर्न लागेको देखेपछि परीक्षा रोक्न भनेको हुँ ।’ 
साथै उहाँले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखहरुको मिलेमतोमा एकलौटी रुपमा कर्मचारी र शिक्षक नियुक्ति भइरहेको आरोप पनि उपप्रमुख पुनको छ ।

‘सबैकाम सहमतिमा गर्ने भनेर नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको बोर्ड छ, केही गर्नुपरेमा त्यही बोर्डमा छलफल गर्ने भनिएको छ, तर यो सहित केही परीक्षामा न मलाई खबर छ, न विषयगत समितिका प्रमुखलाई थाहा छ, उहाँले भन्नुभयो–यो पटक पनि सोही गर्न खोजिएपछि मैले रोक्न खोजेको हुँ ।’ 

जनताको काममा महिनौसम्म बैठक नबस्ने, छलफल नगर्ने तथा आफ्ना स्वार्थ पुरा गर्न भने शनिबार सार्वजनिक बिदाको दिनपनि परीक्षा संचालन गरिएको भन्दै उहाँले आक्रोश पोख्नुभयो । नगर उपप्रमुख पुनले हातपात नगरेको भनेपनि नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र ओलीले भने आफुमाथि हातपात भएको बताउनुभएको छ । 

परीक्षाकै विषयलाई लिएर नगर उपप्रमुखबाट आफुमाथि हातपात भएको बताउनुभएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा परीक्षाकै तयारी गरिरहेको बेला आफुलाई उपप्रमुखले हानेको उहाँको भनाई छ । 

खलंगाको त्रिभुवन जनता माविको कार्यालय संचालन तथा लेखा व्यवस्थापन विषयको शिक्षक र कृषि तर्फका प्राविधिक नियुक्तिका लागि नगरपालिकाले आज परीक्षा तोकेको थियो । घटनापछि भने उक्त परीक्षा रोकिएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update