Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादीले पार्टीका सबै संरचना पूर्नव्यवस्थित गर्ने
बैठकमा सहभागिहरु ।


नेकपा माओवादी केन्द्रले पार्टी तथा पार्टीका संघ, संगठन पूर्नव्यवस्थित गर्ने भएको छ । माओवादी केन्द्र र एमालेको एकता भंग भएपछि बसेको रुकुम पश्चिम जिल्ला कमिटिको पहिलो बैठकले जिल्ला, पालिका, वडा तथा सेल कमिटि पूर्नगठन तथा पूर्नव्यवस्थित गर्ने निर्णय गरेको हो । 

सर्वोच्च अदालतको फैसलाका कारण पार्टी एकता कायम नरहेपछि फेरि माओवादी केन्द्र अस्तित्वमा आएपछि यस अघि भएका पार्टी तथा पार्टीका तहगत संरचना हेरफेर र थपघट गर्ने निर्णय भएको जिल्ला अध्यक्ष गोपाल शर्माले जानकारी दिनुभयो । बैठकले यही महिना भित्र सबै पालिकाको पार्टीको बैठक तथा जनवर्गिय संगठनका जिल्लाका बैठकहरु गर्ने निर्णय गरेको छ । 

पार्टीका पालिका स्तरीय बैठक २ दिनमा सकिनेछन् । यही चैत १६ गते सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको बैठक राखिएको छ । १७ गते चौरजहारी र आठबीसकोट नगरपालिका तथा त्रिवेणि गाउँपालिकाको बैठक राखिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । बैठकले कार्यलय सदस्यको जिम्मेवारी पनि बाँडफाँड गरेको छ ।

जिल्ला इन्चार्ज राजकुमार शर्माले समग्र जिल्लाको गतिविधि हेर्नुहुनेछ भने सह इन्चार्ज वसन्तकुमार शर्माले मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाको जिम्मा पाउनुभएको छ । जिल्ला अध्यक्ष शर्माले चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाको जिम्मा पाउनुभएको छ । आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिका हेर्ने जिम्मा अर्का नेता महेन्द्र केसीलाई दिइएको छ । 

जिल्लामा सञ्चालित आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण अभियानलाई व्यवस्थित बनाउन पार्टी र पार्टी निकटका सबै संरचना लाग्ने निर्णय पनि भएको छ । बैठकले यही चैत २४ गते  जनआन्दोलन दिवशको अवसरमा जिल्लाको मास प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

बैठकमा पालिका स्तरबाट पार्टीका गतिविधिका बारेमा रिर्पोटिङ गरिएको थियो । मुसीकोट नगरपालिकाबाट जयबहादुर पाण्डे, चौरजहारी नगरपालिकाबाट श्रीकृष्ण शर्मा र आठबीसकोट नगरपालिकाबाट रवि केसीले रिर्पोटिङ गर्नुभएको थियो । 

यसैगरी बाँफिकोट गाउँपालिकाबाट चन्द्रबहादुर केसी, सानीभेरी गाउँपालिकाबाट टेकबहादुर पुन र त्रिवेणि गाउँपालिकाबाट गणेश खड्काले रिर्पोटिङ गर्नुभएको थियो । बैठकमा पार्टीको प्रदेश परिषद् तथा सल्लाहकार सदस्यलाई समेत बोलाइएको थियो । बैठक जिल्ला सदरमुकाम खलंगा सेरीगाउँ स्थित सहिद प्रतिष्ठानको हलमा बसेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update