Kakhara सबैको खबर सम्पूर्ण खबर
शैक्षिक गुणस्तर सुधारका लागि आठबीसकोटमा २ दिने अन्तरक्रिया 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा शैक्षिक गुणस्तर सुधारका विषयमा अन्तरक्रिया भएको छ । शिक्षक, विद्यार्थी, प्रधानाध्यापक र जनप्रतिनिधिका विचमा अन्तरक्रिया भएको हो । भदौ ८ र ९ गते राडीज्युला शिक्षा क्याम्पसमा विद्यालयस्तरका समस्या, शिक्षाको गुणस्तर कसरी बढाउने लगायतका विषयमा छलफल भएको थियो । अन्तरक्रियामा शिक्षाविद् प्राध्यापक विद्यानाथ कोइरालाले विद्यालयको गुणस्तर सुधारका लागि सामाजिक कार्य गर्न आउनेहरूले राजनीतिबाट माथि उठेर सेवाको भावना र इच्छा शक्तिका साथ काम गर्नुपर्ने बताउनुभयो ।

कोइरालाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र जनप्रतिनिधिलाई खोज तथा अनुसन्धानात्मक शिक्षामा जोड दिन अनुरोध गर्नुभएको छ । शैक्षिक गुणस्तर बढाउन व्यवहारिक शिक्षा र खोजमुलक शिक्षा अनिवार्य हुनुपर्ने कोइरालाको भनाई छ । उहाँले शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय तहलाई जिम्मा लगाएर मात्र नहुने र यसका लागि पाठ्यक्रम, लगानी र शिक्षक तथा अभिभावकको भूमिका किटान हुनुपर्ने बताउनुभयो । 

त्यस्तै ‘पढ्दै कमाउँदै कार्यक्रम’का शिक्षक नारायण सिग्देलले आफ्नो वरपर रहेका सम्भावनालाई भरपूर सदुपयोग गरेर त्यसैबाट आर्जन गरेर विधार्थीलाई पढ्दै कमाउँदै कार्यक्रममा जोड्न सकिने बताउनुभयो । सुर्खेत बराहतालको जनज्योति माविमा पढ्दै–कमाउँदै कार्यक्रम सुरु गरेका प्रधानाध्यापक सिग्देलले पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनका लागि विभिन्न क्षेत्र तोकिएका र विद्यालयले आवश्यकता अनुसार विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न सक्ने बताउनुभयो ।

दुई दिने शैक्षिक सुधार अन्तरक्रिया कार्यक्रममा बोल्दै आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले हाम्रै गाउँठाउँमा रहेका विविध सम्भावनाहरुलाई खोजी गरेर निश्चित क्षेत्राधिकार भित्र राखेर विद्यार्थीलाई व्यवसायिक शिक्षामा जोड्न शिक्षक तथा विधालयहरुलाई निर्देशन दिनुभयो । प्रमुख केसीले पढ्दै कमाउँदै कार्यक्रमलाई कार्यान्वयन गर्न नगरपालिका तयार रहेकोले सोही अनुसार विद्यालयहरुलाई गृहकार्य गर्न भन्नुभएको छ । 

यस कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाले अक्षयकोष स्थापना गर्ने उहाँले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा पालिकाका सबै विद्यालयहरुका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update