Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्मचारीद्धारा मुसिकोट नगरपालिकाको गेटमा तालाबन्दी 
नगरपालिकाकाे गेटमा राखिएकाे विभिन्न माग सहितकाे ब्यानर ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका नगर कार्यपालिकाको गेटमा तालाबन्दी गरिएको छ । शनिबार नगर उपप्रमुख बिमलकुमार पुनबाट नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र ओलीमाथि हातपात भएको भनिएको घटनाको बिरोधमा कर्मचारीहरुले गेटमा तालाबन्दी गरेका हुन् । गेटमा तालाबन्दी गरी सेवा ठप्प पार्दै कर्मचारीहरुले दोषिलाई कारबाहीको माग गर्दै सुरक्षाको माग गरेका छन् ।

कर्मचारीहरुले ८ बुँदे माग राखेका छन् । तालाबन्दीसंगै गेटमा ८ बुँदे माग सहितको ब्यानर टाँगिएको छ । उक्त माग समेटिएकाे पत्र कर्मचारीहरले नगर प्रमुख महेन्द्र केसीलाई पनि बुझाएका छन् । जसमा दोषिलाई कडाभन्दा कडा कारबाही र कर्मचारीहरुलाई भरपर्दो सुरक्षाको व्यवस्थाका साथै घटनाको छानविन गर्न उच्च स्तरीय न्यायिक समिति गठन गर्न माग गरिएको छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृतबाट कर्मचारीहरुको बैठक बसाल्नुपर्ने, कर्मचारीले कुनै गल्ति गरे कानुन वमोजिम कारबाही गर्नुपर्ने, जनप्रतिनिधि भएर आफैले कानुन बनाउने र कार्यान्वयनको समयमा कर्मचारीलाई दोषि देखाई आफु पन्छिने प्रवृत्ति रहेकोले आगामी दिनमा यसको अन्त्य हुनुपर्ने माग कर्मचारीहरुको छ ।

जनप्रतिनिधि र कर्मचारीका आ–आफ्ना भूमिका र कामहरु स्पष्ट तोकिएकोले नियमानुसार एक अर्का विचको काममा हस्तक्षेप गर्न नपाइने माग पनि कर्मचारीले राखेका छन् । साथै कर्मचारीहरुको हकहितका लागि आवाज उठाउन ट्रेड युनियन, संघ संगठनलाई अपिल समेत गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले कर्मचारीहरुले विभिन्न माग राखि गेटमा तालबन्दी गरेको बताउनुभयो । यसबारेमा नगर प्रमुखलाई जानकारी गराइएको उहाँको भनाई छ ।

कर्मचारीहरु आन्दोलित बनेपछि नगरपालिकाको सेवा ठप्प भएको छ । नगर प्रमुख महेन्द्र केसीले यसबारेमा नगरपालिकाको टिम बस्ने तयारी भइहरेको बताउनुभयो । ‘कर्मचारीहरुले माग राखेका छन्, त्यो स्वभाविक देखिन्छ, उपप्रमुखको आफ्नै कुरा छ, उहाँले भन्नुभयो–नगर उपप्रमुख र कर्मचारी बाहेक नगरपालिकाको बाँकी टिम बसेर छलफल गर्ने र त्यसका आधारमा अघि बढ्ने विषयमा तयारी भइरहेको छ ।’ अवस्थालाई सामान्य बनाउने गरी छलफल केन्द्रीत हुने उहाँको भनाई छ ।

त्रिभुवन जनता माविको कार्यालय संचालन तथा लेखा विषयको शिक्षक र कृषि प्राविधिक नियुक्तिका लागि शनिबार परीक्षा संचालनका विषयमा नगर उप प्रमुखले आफुमाथि हातपात गरेको नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र ओलीको भनाई छ । आफुले परीक्षा रोक्न मात्र भनेको तर हातपात भने नगरेको नगर उपप्रमुख बिमलकुमार पुनको भनाई छ ।  
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update