रूकुम पश्चिमकाे आठबीसकाेट नगरपालिकाबाट एक महिलाकाे हेलिकप्टर मार्फत उद्वार गरिएकाे छ । घाँस काट्न गएकाे बेला भिरबाट लडेर गम्भीर घाईते भएकी वडा नम्बर १ खेतकी ३५ वर्षिया बासमति दमाईलाई नेपाली सेनाकाे हेलिकप्टरबाट उद्वार गरि उपचारका लागि सुर्खेत लगिएकाे हाे । उहाँ शनिबार अपरान्ह ४ बजेकाे समयमा घर नजिकैकाे तुलाकाे भिरमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते हुनुभएकाे थियाे ।
टाउकाे, छाती र खुट्टामा गहिराे चाेट लागेकी दमाईलाई उपचारका लागि आज बिहान ११ बजेतिर वडा नम्बर २ स्थित स्वास्थ्य संस्थामा ल्याइएकाे थियाे । त्यहाँ उपचार सम्भव नभएपछि स्वास्थ्य चाैकीले रेफर गरेकाे थियाे । तत्पश्चात नेपाली सेनाकाे हेलिकप्टर मार्फत सुर्खेत लगिएकाे चण्डी दल गण सल्लेका गणपति बरूण केसी खत्रीले जानकारी दिनुभयाे ।
घटना स्थलमा सडक अबरुद्ध भएकाले घाईतेको उद्धारमा कठिनाई भएकाले हेलिकप्टर प्रयोग गर्नु परेको आठबिसकोटका नगर प्रमुख रवि केसीले बताउनुभयाे । घटनास्थल एकदमै दुर्गममा भएको र सडक भए पनि बर्षातमा अवरुद्ध भएकोले उद्धार गर्न समस्या भएको थियो । घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा घाईतेको उद्धार गरिएको थियो ।
स्यालाखदी स्वास्थ्य चौकीमा कार्यरत चेतना यरीका अनुसार दमाईको अवस्था गम्भीर भएपछि नगरपालिका संग हेलिकप्टर मार्फत उद्धार गर्न अनुरोध गरिएको थियाे। नगरपालिकाको सहयाेगमा सुर्खेतबाट हेलिकप्टर मगाएर उद्वार गरिएको जनाईएको छ । हेलि भाडा नगरपालिकाले वेहाेर्ने जनाएकाे छ ।
शनिबार मात्र जिल्लाकाे बाँफिकाेट गाउँपालिका ९ झुलाकी १९ वर्षिया सुत्केरीलाई रक्तस्राव नराेकिएपछि सेनाकै हेलिकाेप्टरबाट उद्वार गरि सुर्खेत लगिएकाे थियाे ।