रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले ताला खोलेर काममा फर्किन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । आज एक विज्ञप्ती जारी गर्दै खड्काले नगरपालिकाको गेटमा लगाएको ताला खोलेर काममा फर्किन सबै कर्मचारीरीहरुलाई निर्देशन दिनुभएको हो । शनिबार नगर उपप्रमुख बिमलकुमार पुनबाट नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र ओलीमाथि कुटपिट भएको भन्दै दोषिलाई कारबाही र सुरक्षाको माग गर्दै कर्मचारीहरुले आइतबार नगरपालिकाको गेटमा तालाबन्दी गरेर सेवा अवरुद्ध पारेका थिए ।
कर्मचारीहरुले नगर प्रमुख महेन्द्र केसीलाई ८ बुदे माग पत्र समेत बुझाएका थिए । त्यसमा दोषिलाई कारवाहीको माग, कर्मचारीको सुरक्षा, घटनाको उच्च स्तरीय छानबिन र आगामी दिनमा यस्ता घटना दोहोरिन नहुने लगायतका माग राखिएको थियो । उक्त मागमा आफुपनि प्रतिबद्ध रहेको र घटना निकै दुःखद रहेको तथा दोषिलाई कारबाही हुने अपेक्षा गरेको प्रमुख प्रशासकीय अधिकृत खड्काले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । आफ्नै अगाडी कर्मचारी कुटिदा पनि आफुले रोक्न नसकेको भन्दै उहाँले क्षमा समेत माग्नुभएको छ । तालाबन्दीका कारण सेवाग्राहीमा पर्न गएकाे असुविधाप्रति पनि क्षमा मागिएकाे छ ।
साथै उहाँले आगामी दिनमा पनि यस्ता घटनाको जोखिम रहेको भन्दै कर्मचारीहरुलाई कानुन सम्मत सचेत भएर काम गर्न अनुरोध गर्नुभएको छ । उहाँले कर्मचारी र उनका परिवारका सदस्यको समेत सुरक्षाको माग गर्नुभएको छ । त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले आइतबार कार्यालयको मुल गेटमा ताला लगाई कार्यालयको काममा सरिक हुन नसकेका कर्मचारीहरुको एक दिनको बिदा सञ्चित बिदाबाट कट्टी गर्न नगरपालिका प्रशासन शाखालाई निर्देशन दिनुभएको छ ।
यसैविच खड्काले त्रिभुवन जनता मावि खलंगाको रिक्त रहेको शिक्षक पदपूर्तिका लागि प्रचलित शैक्षिक कानुन र नगर शिक्षा नियमावली २०७४ अनुसार गठित छनोट समितिबाट यथाशिघ्र स्वच्छ, निष्पक्ष रुपमा गर्न अनुरोध गर्नुभएको छ । स्थानीय प्रशासनको सहयोग लिन समेत उहाँको अनुरोध छ । त्रिजमाविको शिक्षक र कृषि प्राविधिकको परीक्षाको तयारी गरिरहेका बेला नगर उपप्रमुख पुनले शाखा प्रमुख ओलीमाथि हातपात गरेको कर्मचारीहरुको भनाई छ । उपप्रमुख पुनले भने परीक्षा रोक्न मात्र भनेको हातपात भने नगरेको दाबी गर्नुभएको छ ।