रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० ले वडावासीको सहजताका लागि टोलमै विद्युतिय घट्ट सञ्चालनमा जोड दिएको छ । स्थानीयलाई अन्न पिस्न घण्टौं सयम लाग्ने भएपछि वडाले विद्युतिय घट्ट सञ्चालनमा जोड दिएको हो । वडा कार्यालयको आर्थिक सहयोग मार्फत १० नम्बर वडाको बयाल्या र फेरामा विद्युतिय घट्ट सञ्चालन गरिएको वडा अध्यक्ष हरिबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त टोलमा पानी घट्ट सञ्चालन हुने सम्भावना नभएपछि वडावासीको सहजताका लागि वडाले विद्युतिय घट्टमा जोड दिएको हो । वडाको फेरामा ८, ९ महिना पहिले नै विद्युतिय घट्ट सञ्चालनमा आएको थियो । बयाल्यामा भने आज मात्रै विद्युतिय घट्ट सञ्चालनमा आएको छ । घट्ट सञ्चालनमा आएपनि केहि व्यवस्थापनको काम गर्न बाँकी रहेकोे वडा अध्यक्ष चन्दको भनाई छ ।
वडाले कृषि कार्यक्रम अन्तरर्गत घट्ट सञ्चालनको लागि फेरामा १ लाख ३५ हजार र बयाल्यामा २ लाख ३५ हजार रकम आर्थिक सहयोग गरेको छ । यसमा वडाबासीहरुको पनि श्रमदान रहेको छ । घट्टको रेखदेख गर्ने, विद्युत प्रयोग भए बाफतकोे महसुल तिर्ने लगायतका काम स्थानीयले नै गर्ने भएकाले निःशुल्क रुपमा अन्न पिस्न पाउनेछन् ।
यसभन्दा अघि बयाल्या टोलका करिव २० घरपरिवार अन्न पिस्न ४ घन्टा हिडेर वडा नम्बर १० को ठाँटी र वडा नम्बर ९ को भेराखेत जानुपर्ने बाध्यता रहेको थियो । अव भने टोलमै घटट् सञ्चालन भएपछि स्थानीय खुसी भएका छन् ।