रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३, का अध्यक्ष हुनुहुन्छ, विर्खबहादुर विष्ट । तर उहाँलाई विर्खबहादुर भन्दा ‘केदार’ भनेर धेरैले चिन्छन् । धेरैमा ‘केदार’ भनेरै चिनिनुहुन्छ उहाँ । ‘केदार’, उहाँ नेकपा माओवादीको पूर्णकालिन कार्यकर्ता हुँदा राखिएको टेक नाम हो । उहाँले नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा दश वर्ष बढी काम गर्नुभएको हो । २०५१ सालमा अखिल क्रान्तिकारीको संगठित सदस्यबाट राजनीति थाल्नुभएको थियो । दश वर्षे जनयुद्धको क्रममा उहाँले थुप्रै भूमिका निर्वाह गर्नुभयो । २०५३ सालमा पार्टीको पूर्णकालिन सदस्य हुनु भएका उहाँ पार्टीको सेल सेक्रेटरी तथा विद्यार्थी संगठनको जिल्ला समिति सदस्य हुनुहुन्थ्यो । दश वर्षे जनयुद्धको दौडानमा उहाँ २०५५ मा पार्टीको एरीया सदस्य, २०५६ मा एरीया सचिवालय सदस्य तथा गाजस प्रमुख, २०५८ मा एरीया सेक्रेटरी, २०५९ सालमा पार्टीको जिल्ला समिति सदस्यको भूमिका निर्वाह गर्नुभएको थियो । त्यसपछि २०५९ सालमै पार्टीको अर्घाखाँची जिल्ला सचिवालय सदस्यको रुपमा काम गर्नुभएको थियो । २०६१ देखि २०६५ सम्म रुकुम जिल्लाको पार्टी सचिवालय सदस्यको भूमिका निर्वाह गर्नुभयो । त्यसपछि हेटौंडा महाधिवेशन आयोजक समितिको सदस्य बन्नुभएका उहाँ पार्टीको प्रदेश समितिमा रहेर पनि काम गर्नुभएको थियो । उहाँलाई विद्यालयमा पढ्दै गर्दा प्रचण्डजंग शाह र विरजंग शाहको घरमा आगलागी र माओवादीले चलाएको भकारी कब्जा आन्दोलनका झुट्टा मुद्दा लगाइएको थियो । सोही मुद्दाका कारण पनि आफू जनयुद्धप्रति प्रेरित भएर लागेको उहाँको भनाई छ ।
२०७४ मा वडाध्यक्ष
जनयुद्ध सकिएपछिका दश वर्ष उहाँ पार्टीमा काम गर्नुभयो । घेत्मा, गरायला र सिम्ली गाविस इन्चार्जको काम गर्नुभयो । त्यसपछि सहकारी निर्माण, समूह निर्माण लगायतका सामाजिक काम गर्नुभयो । सानीभेरी शिक्षा क्याम्पसको संस्थापक अध्यक्ष बन्दै सामाजिक सेवामै रहेका उहाँ २०७४ वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनमा सानीभेरी गाउँपालिका ३, को वडाध्यक्षमा निर्वाचित हुनुभयो । साविक गरायला गाविसका १, २, ३ र ८ नम्बर वडा मिलाएर सानीभेरी गाउँपालिकाको ३ नम्बर वडा बनाइएको थियो । यही वडाको नेतृत्व गर्ने, अभिभावकत्व निर्वाह गर्ने जिम्मा उहाँमाथि आयो । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका विष्ट निकटतम प्रतिस्प्रधी भन्दा झण्डै दोब्बर मतले विजयी हुनुभयो । त्यसपछि उहाँ निरन्तर वडाको विकास निर्माणमा त लाग्नु भएको छ नै पार्टीको काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । हाल उहाँ पार्टीको सानीभेरी गाउँपालिकाको इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।
शिक्षा, स्वास्थ्य, कृषि र रोजगार प्राथमिकतामा
वडाध्यक्ष निर्वाचित भइसकेपछि विष्टले वडाको विकासका लागि प्राथमिकता निर्धारण गर्नुभयो र त्यसै अनुसार योजना निर्माण र बजेट विनियोजन पनि गरिरहनु भएको छ । वडाको समग्र विकासका लागि आवश्यक प्राथमिकता निर्धारण गरेपछि मात्रै कामकाज र विकास निर्माणले गति लिने विश्वास उहाँको छ । शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, खानेपानी, सिचाई, विद्युत, सडक पूर्वाधार, पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको वडाध्यक्ष विष्टले बताउनुभयो । तत्कालिन र दिर्घकालिन हिसावले यी नै योजना र कुराहरु प्राथमिकतामा राखेर काम भइरहेको र अपेक्षित उपलब्धि पनि आइरहेको उहाँले बताउनुभयो । यिनै प्राथमिकता भित्रका पनि विभिन्न क्षेत्र पहिचान गरी त्यसलाई पनि योजनामा राखेर काम भइरहेका छन् । विकास अघि बढिरहेको बुझाई उहाँको छ । आवश्यक्ता र जनताको मागका आधारमा समानुपातिक विकास भइरहेको छ । बजेट विनियोजन पनि माग र आवश्यक्तालाई पहिलो प्राथमिकतामा राखेर गर्ने गरिएको अध्यक्ष विष्टले बताउनुभयो ।
झण्डै साढे २६ करोड बजेट परिचालन
उहाँ निर्वाचित भएदेखि हालसम्म वडामा २६ करोड ३२ लाख रुपैयाँ बजेट परिचालन भएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि चालु आर्थिक वर्ष सम्म संघ, प्रदेश र स्थानीय तहका सबै योजना, आयोजना गरी यो बजेट यस वडामा परिचालन भएको छ । सडकतर्फ तीन वटै सरकारका ९ करोड ६५ लाख, खानेपानीतर्फ ४ करोड २७ लाख, सिचाईतर्फ ३ करोड ५० लाख, शिक्षातर्फ २ करोड ६२ लाख ५२ लाख रुपैयाँ परिचालन भएको छ । कृषि तथा पशुतर्फ ९१ लाख, स्वास्थ्यतर्फ ४६ लाख २४ हजार,पर्यटनमा २५ लाख बजेट परिचालन भएको वडाध्यक्ष विष्टले बताउनुभयो ।
सडकतर्फ
वडामा ६ वटा सडक निर्माण भएका छन् । सानीभेरी नदीमा पुल बनेको छ यसले वारीपारी जोडेको छ । रिम्ना–गाराघाट सडकको नायखोलादेखि ज्यामिरेसम्मको खण्ड निर्माण भएपछि यसले थप सजिलो बनाएको छ । झिन्चौर–भलाचौर सडक, पेदीबजार–गरायला–खाराखाली–अध्याचौर सडक, बल्याखर्क–गोल्डाँडा–स्याला सडक निर्माण भएको छ । यसैगरी पेदीबजार–श्रीचौर सडक, टाकुरी–प्रियतरा सडक निर्माण भएको छ । यि सडक मार्फत वडाका मुख्य सबै टोल जोडिएका छन् । सडकको स्तरोन्नती हुन बाँकी छ । यो वडा मध्यपहाडी लोकमार्गसँग जोडिएको छ । रिम्ना, जोजरकोटसँग जोडिएको छ । सुर्खेत, डोल्पासँग जोडिएको छ । यो चार वर्षको अवधिमा वडाको सडकतर्फ आधारभुत काम सएिको वडाध्यक्ष विष्टले बताउनुभयो ।
शिक्षातर्फ
वडामा ६ वटा विद्यालय छन् । सूर्योदय मावि कक्षा १ देखि १२, बाल कल्याण आधारभुत विद्यालय कक्षा १ देखि ८, ज्यामिरे आधारभुत विद्यालय कक्षा १ देखि ५, दिपज्योती आधारभुत विद्यालय कक्षा १ देखि ५, तिमिले बाल शिक्षा र स्याला बाल शिक्षा वडामा सञ्चालन भइरहेका छन् । सूर्योदय मावि पेदीमा ८ कोठे पक्कि भवन निर्माण भएको छ भने ६ र २ कोठाको अरु २ भवन निर्माण भइरहेका छन् । त्यस अघि कक्षा १ देखि १० सम्म मात्रै सञ्चालित यो विद्यालय मा १२ कक्षा सम्म पठन पाठन हुन थालेको छ भने कानून संकायमा पनि पढाउन थालिएको छ । मावि तहका लागि ४ जना, कम्प्युटर शिक्षक १ जना, कार्यालय सहयोगी १ जनालाई नियुक्त गरिएको छ । बालकल्याण आधारभुत विद्यालय गोल्डाँडा ३ जना आधारभुत तह, १ जना कम्यूटर शिक्षक र १ जना लेखापाल नियुक्ति गरिएको छ ।
यस विद्यालयको एउटा पूरानो भवन मर्मत गरिएको छ भने २ शौचालय बनाइएको छ । विद्यालयलाई सुरक्षित बनाउने खेलमैदान निर्माण र घेराबार पनि लगाइएको छ । ज्यामिरे आधारभुत विद्यालयमा २ कोठे ट्रष्ट भवन निर्माण, खेलमैदान निर्माण, खानेपानी निर्माण र पूरानो भवन मर्मत गरिएको छ । सबै विद्यालयमा कम्युटर व्यवस्थापन र शिक्षकको नियुक्त गरी पठन पाठन सञ्चालन गरिएको छ । दीपज्योती आधारभुत विद्यालय चौखेमा भवन मर्मत, खानेपानी निर्माण र जनशक्ति व्यवस्थापन भएको छ । दिवा खाजाको लागि भान्सा घर निर्माण गरिएको छ । आधारभुत विद्यालय स्याला र तिमिलेमा जनशक्ति व्यवस्थापनको साथै २÷२ कोठे विद्यालय भवन निर्माण गरिएको छ । विजुली नभएका विद्यालयमा सोलारको व्यवस्थापन गरी कम्प्युटर वितरण कक्षा सञ्चालन भइरहेको छ । बेला बेला शिक्षक, विद्यार्थी, अभिभावकसँग छलफल, सुझाव संकलन, योजना निर्माणको काम पनि भइरहेको वडाध्यक्ष विष्टले बताउनुभयो ।
सिचाईतर्फ
यस वडामा सानाठूला गरी १५ सिचाई योजना निर्माण तथा मर्मत भएका छन् । ठूला सिचाईमा देउताखोला–गरायलाज्यूला–बेलटापु सिचाई आयोजना र ज्यामिरे सिचाई आयोजना निर्माण सम्पन्न भएको छन् । साना सिचाई योजनामा चौखे सिचाई योजना मर्मत, घट्टेखोला सिचाई योजना निर्माण, गरायलाज्युला सिचाई योजना मर्मत, मुलपानी सिचाई योजना मर्मत र पोखरी सिचाई योजना निर्माण भएको छ । यसैगरी श्रीचौर सिचाई योजना निर्माण, खाराखाली सिचाई पोखरी निर्माण, डाँडापोखरी सिचाई पोखरी निर्माण, पिपलडाँडा सिचाई पोखरी निर्माण, साहुडेरा सिचाई पोखरी निर्माण, च्यूरेखाली सिचाई पोखरी निर्माण, स्याला सिचाई पोखरी निर्माण, घोरलास सिचाई पोखरी निर्माण, गहिराखाली सिचाई पोखरी निर्माण र कमैदे सिचाई पोखरी निर्माण गरिएको छ । सिचाई सुविधा नपुगेका ठाउँमा लक्षित गरी वस्तुभाउलाई पियाउन र करेसाबारी सिचाईका लागि पानी जम्मा गर्ने गरी पोखरी निर्माण गरिएको वडाध्यक्ष विष्टले बताउनुभयो । वडाका ८ सय ५० घरधुरीमध्य यि सिचाई योजना, आयोजना मार्फत धान, मकै, गहुँ, तरकारी उत्पादन बढ्ने तथा ४ सय बढी घरधुरीका वस्तुभाउलाई पानी पियाउन पुगेको छ भने धेरैले करेसाबारी निर्माणमा पनि यि योजनाको पानी उपयोग गरेका छन् ।
स्वास्थ्यतर्फ
वडामै स्वास्थ्य भवन निर्माण भएको छ । मुलपानीमा यो भवन निर्माण भइ सेवा प्रवाह गर्ने तयारीमा छ । वडामा आधारभुत स्वास्थ्य इकाई स्थापना भइ वडाका सर्वसाधारणले आधारभुत स्वास्थ्य सेवा पाइरहेका छन् । एक जना अहेब, एक जना अनमी र एक जना कार्यालय सहयोगीले सेवा प्रवाह गरिरहेका छन् । कोरोना महामारीका समयमा चेतनामूलक कार्यक्रम, साबुन, मास्क वितरण, स्वास्थ्य शिविर सञ्चालन, स्वास्थ्य बीमा कार्यक्रम र सहजिकरणको काम पनि भइरहेको छ । वडाका १ हजार ६ सय जनाले स्वास्थ्य बीमा गरेका छन् । अरुलाई पनि गर्नका लागि सहजिकरण भइरहेको वडाध्यक्ष विष्टले बताउनुभयो । कमजोर आर्थिक अवस्था भएकाले पैसा तिरिदिएर भएपनि स्वास्थ्य बीमा गराउने कार्यक्रमलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
कृषि तथा पशुतर्फ
यो वडालाई गाउँपालिकाले बाख्रा र मौरीको पकेट क्षेत्र घोषणा गरेको छ । पकेट कार्यक्रम अन्तर्गत बाख्राको खोर व्यवस्थापनमा १५ समूह र ६ वटा फर्मलाई अनुदान दिइएको छ । पशु तथा बाली बीमा कार्यक्रम लागु गराइ त्यसबाट किसानको व्यवसायलाई सुनिश्चित गराइएको छ । यस ४ वर्षको अवधिमा यस वडामा बाख्राको संख्या दोब्बरले बढेको छ । पकेट कार्यक्रम सुरु भए पश्चात वडामा बाख्राको संख्या दोब्बर भएको हो । हाल यस वडामा व्यक्ति र समूहका गरी ३६ सय बाख्रा छन् । समय र सिजन अनुसारका मल,बीउ वितरण, तालिम सञ्चालन, विरुवा वितरण, लागत सहभागितामा ६ वटा जोत्ने हाते मेशिन वितरण गरिएको छ । बेमौसमी खेतिपातीका लागि अनुदान वितरण गरिएको छ । मौरी किसानलाई गोला सहितका मौरी घार वितरण गरिएको छ । गत वर्ष ५ सय मौरी सहितका घार किसानलाई वितरण गरिएको थियो ।
खानेपानीतर्फ..
यस वडामा ७ वटा खानेपानीका योजना निर्माण सम्पन्न भएका छन् । एउटा निर्माणधिन छ । गुदुमछहरा–भलाचौर खानेपानी योजना, नायखोला–तल्लाचौर खानेपानी योजना,गुम्मखोला–कमैदे खानेपानी योजना, श्रीचौर खानेपानी योजना, सिसेनी–रातामाटा खानेपानी योजना, नाउलीखोला–अध्याचौर खानेपानी मर्मत,ज्यामिरे–पधेरा खानेपानी योजना र ज्यामिरे–खाली खानेपानी योजना निर्माण भएका छन् । तुषारे–गरायला–अध्याचौर खानेपानी योजना निर्माणको क्रममा छ । गत वर्षदेखि यो काम भइरहेको छ । ४ सय ५० घरधुरीलाई पुग्ने गरी योजना आयोजना निर्माण भइरहेको वडाध्यक्ष विष्टले बताउनुभयो । तुषारेदेखि अध्याचौरसम्म लिफ्ट मार्फत खानेपानी पुर्याउने योजना हो । यो आयोजनामा हालसम्म १ करोड ६० लाख बजेट प्राप्त भएको छ भने अरु बजेट प्राप्त हुने क्रममा छ । वडाका सबै योजना आयोजना एक घर एक धाराको अवधारणा अनुरुप बनिरहेका छन् । वडाका ८ सय ५० घरधुरीमध्य ३ सय ५० घरधुरीमा एक घर एक धारा पुगेका छन् ।
विद्युततर्फ..
वडामा ८ सय ५० घरधुरी छन् । लगभग १ सय घरबाहेक अधिकांश घरमा विजुली बालेको छ । स्थानीय स्तरमा उत्पादन भएको विद्युत र नेपाल विद्युत प्राधिकरणको विद्युत उपभोक्ताको घरमा जडान गरिएको छ । वडाका सबै घरमा राष्ट्रिय प्रशारण लाइन जोड्ने योजना वडाको छ । ज्यामिरे,पेदी बजार र श्रीचौरमा राष्ट्रिय प्रशारण लाइन जडान भइसकेको छ भने चौखे, भलाचौर र गरायलागाउँमा तत्कालै यो लाइन जडान हुने वडाध्यक्ष विष्टले बताउनुभयो । उहाँका अनुसार यस वडामा देउताखेला लघु जलविद्युत आयोजना र श्रीचौर देउताखेला लघु जविद्युत आयोजना निर्माण भएका छन् ।
पर्यटन तथा खेलकुद तर्फ
यो वडा पर्यटकीय सम्भावना भएको वडा हो । सानीभेरी नदी, गजवका फाँट तथा मौराखारा लेकका कारण यहाँ पर्यटनको सम्भावना छ । पर्यटनको विकासका लागि वडाले गाउँपालिका, प्रदेश तथा संघीय सरकारको सहयोगमा विभिन्न काम गरेको छ । मध्यपहाडी लोकामार्गदेखि मौराखारा लेकसम्मको पदमार्ग, मौराखारा पर्यटकीय क्षेत्रको डिपिआर, बेलटापुमा प्रतिक्षालय निर्माण गरिएको छ । हरेक वर्ष गुरिल्ला म्याराथान मौराखारासम्म दौडाइन्छ । यसबाट पनि वडाको पर्यटकीय विकास निर्माण टेवा पुग्ने विश्वास वडाध्यक्ष विष्टको छ । खेलकुदतर्फ पनि वडाले विभिन्न कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष वडाध्यक्ष कप खेलकुद भइरहेको छ । वडाका खेलाडीको विकासका लागि यो कप सुरु गरिएको हो । खेल र खेलाडीको विकासमा यसले टेवा पुर्याउने विश्वास लिएको उहाँले बताउनुभयो । खेलको विकासका लागि बेलटापु खेल मैदान निर्माणको चरणमा छ । डिपिआर निर्माणपछि बेलटापुमा खेल मैदान निर्माण थालिएको थियो । बेलटापु मेलामा हरेक वर्ष खेलकुद प्रतियोगिता गर्ने गरिएको छ । यसबाट पनि वडा तथा गाउँपालिकाका खेलाडीको विकास भइरहेको महशुस भएको छ ।
गाउँपालिकाको समाजिक विकासतर्फका महत्वपूर्ण काम
वडाध्यक्ष विष्ट गाउँ कार्यपालिकाको सामाजिक विकास समितिको संयोजक पनि हुनुहुन्छ । यस अर्थमा गाउँपालिकाको सामाजिक विकासमा पनि महत्वपूर्ण काम भएको उहाँको दावी छ । विशेष गरी स्थानीय तह बनेपछि अभिभावक विद्यालय चलाउने पैसा उठाउने बाध्यताबाट मुक्त भएका छन् । विद्यालय चलाउन शिक्षक पाल्ने कामबाट अभिभावकलाई स्थानीय तहले मुक्त गरेको विष्टले बताउनुभयो । स्थानीय तह विशेष गरी गाउँपालिकाले गाउँपालिकाका सबै विद्यालयमा १ सय ७० जना शिक्षक तथा कर्मचारी नियुक्त गरेको छ । यसपछि अभिभावक चन्दा उठाएर शिक्षक पाल्नुपर्ने तथा विद्यालय चलाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन् । यसको प्रतिफल आउन भने केही समय लाग्ने उहाँले बताउनुभयो । स्थानीय तहले लगानी गरेको छ । प्रतिफल आउन केही समय लाग्ने तर अभिभावक भने ठूलो समस्याबाट मुक्त भएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले अस्पताल बनाएको छ । डाक्टर सहितको अस्पतालबाट धेरैले सजिलै, सस्तै सेवा पाएका छन् । आकष्मिक भएका घटना, दुर्घटनाका विरामीले एम्बुलेन्स पाएका छन् । छिटो छरितो अस्पताल पुगेका छन् । यो पनि देखिने उपलब्धि भएको बुझाई विष्टको छ । यसलाई थप व्यवस्थित गर्नका लागि सबै ठाउँबाट पहल र प्रयास भइरहेको पनि उहाँले बताउनुभयो ।
भिर,पाखाहरुमा गाग्री, ड्रममा बोकेर पानी ओसार्नुपर्ने बाध्यता टरेको छ । केही बाहेक अधिकांशले यस्तो असजिलो परिस्थिति गुजार्नु परेको छैन । यो पनि देखिने परिवर्तण हो । गाउँपालिकाका धेरै ठाउँमा पिठ्युमा पानी बोक्ने बाध्यता टरेको र कतै कतै टर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो ।
अबको योजना
सडक स्तरोन्नती गर्ने । सडकहरु बाह्रै महिना चल्ने बनाउने योजना छ । निर्माणको क्रममा रहेका सबै योजना बनाइ सक्ने योजना छ । रोजगारी र स्वरोजगारका कार्यक्रमलाई निन्तरता दिने तथा थप गर्ने योजनामा पनि रहेको वडाध्यक्ष विष्टले बताउनुभयो । बाँकी रहेका सबै घरधुरीमा विद्युतको राष्ट्रिय प्रशारण लाइन जोड्ने । विद्यालयको गुणस्तर कायम गर्ने र सुशासनमा जोड दिने । सबै घरधुरीलाई स्वास्थ्य बीमा गराउनका लागि प्रेरित गर्ने नसक्नेलाई आफै गराइदिने योजना पनि वडाले गराएको छ । वडा कार्यालय भवन निर्माणका लागि आवश्यक जग्गाको व्यवस्थापन गर्ने सकेसम्म बजेट व्यवस्थापन गरेर भवन निर्माणको थालनी सम्म गर्ने योजना रहेको छ । एक वर्षमा नसकिने योजनाको थालनी नगर्ने तर थालनी भइसकेका सबै योजना सम्पन्न गर्नु नै अबको योजना भएको वडाध्यक्ष विष्टले बताउनुभयो । सानीभेरी नदीदेखि अध्याचौर सिचाई योजनाका लागि डिपिआर गर्ने योजना पनि प्राथमिकतामा छ ।