मुकुन्दप्रसाद शर्मा
म एक्कासी पुस्तकालय भित्र छिरे
पुस्तकालय भित्र थुप्रै पुस्तकहरु भेट्टाएँ
गोर्कीको आमा
देवकोटाको मुनामदन
झमक घिमिरेको जीवन काँडा कि फूल
विपी कोइरालाको आत्मवृतान्त
पूर्ण ओलीको जितौरी
मायाप्रसाद शर्माको मुक्तियात्रा
जस्ता थुप्रै पुस्तकहरु सरसर्ती पढे ।
पुस्तकहरुबाट प्रेरित भएर
जीवनलाई नयाँ मोडमा लिने
संकल्प गरे
जीवनदर्शन, समाजविज्ञान र समाजदर्शन
घाइते हुने गरी बुझेर
बौद्धिकता र ज्ञानको भण्डारको ज्योति
बन्दै बन्दै महासागरको रूपमा
पुस्तकालयलाई अनुभूत गरे ।
पुस्तौ पुस्तासम्म हस्तान्तरण हुने
विराट ज्ञानपुन्जको रूपमा
पुस्तकालय भित्रका पुस्तकहरुलाई पाएँ ।
विवेक र चेतनाको हुरीसँगै
हुत्तिएर स्वर्णिम बिहानीको
पदचापमा आफूलाई पाएँ
देश र दुनियाँ बुझे
धेरैका कथा र व्यथा पढें ।
कतिका भत्किएका जीवनदर्शन पाएँ
घुम्ती घुम्तीमा, पल पलमा
तिम्रै साहराको साथले
प्राज्ञिकता र विवेकको सतमार्ग
हिंड्न कति हो कति सफल भएँ ।
कहिले च्याते तिमीलाई
कहिले हाले सिरानी
पछ्याउन सके तिम्रो महिमा
कतिले पछ्याउन सकेनन् तिम्रो गन्तव्य
मलाई त पछुतो छैन
तिम्रो विवेक र चेतनाको यात्रामा
किनकि
संस्कार र चेतनाको तिमी सागर रहेछौ
आजभोलि
तिमीलाई गिज्याउन थालेका छन्
तिमी बस्ने रयाकमा
ई– लाईब्रेरीका यन्त्र बजिरहेका छन्
तिम्रो आदर्शमाथि प्रश्न गर्दै
फेसबुक र सामाजिक संजालबाट
तिम्रो प्रतिस्ठामाथि अंकुश लगाउँदैछन्
लाजै नमानी तिम्रो दिवस मनाउँदैछन्।
तर मैले हरेश खाएको छैन्
जीवनभर पुस्तकालयका पुस्तकहरु बटुलेर
नोमचम्स्की,रुसो,प्लेटो,गोर्की,माओ
देवकोटा, गान्धी र बुद्धको
राजमार्गमा दौडिएर
सुदूर गन्तव्यमा पुग्ने निधो छ ।
तिम्रो मर्म र भावनालाई
पढेरै जानेरै विवेक र दर्शनको लम्बे यात्रामा
निरन्तर निरन्तर
पछ्याइरहने अठोट छ
मरेर पनि बाँचिरहने तुल्याउने
जीवनकै मार्गदर्शक
पुस्तकालय भित्रका पुस्तक हौं तिमी
तिम्रो चेतनाको पुस्तान्तरण
नअघाउन्जेलसम्म
युग युगसम्म
चाखीरहने संस्कारपूर्ण अठोट छ ।
(२०८०/०५/१५)