Kakhara सबैको खबर सम्पूर्ण खबर
२ महिलाको हत्या अभियोग लागेकी सिर्जना पूर्पक्षका लागि कारागार चलान, सुनचाँदी व्यवसायी धरौटीमा रिहा 
सिर्जना बुढा बाेहरा ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेका दुई महिलाको हत्या गरेको अभियोग लागेकी सल्लेकै २३ वर्षिया सिर्जना बुढा बोहरालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले बुधबार सिर्जनालाई पूर्पक्षका लागि कारागार चलान गरेको हो । 

सल्लेकी ५२ वर्षिया हस्तकली बुढाथोकी र ४८ वर्षिया आइती बुढाको हत्या गरेको आरोपमा प्रहरीले सिर्जनालाई पक्राउ गरेको थियो । उनले दुवै घटना आफुले घटाएको प्रहरी समक्ष बयान दिएकी थिइन । हस्तकलीको हत्या गत साउन १८ गते भएको थियो भने आइतीको हत्या २०७५ असार १० गते भएको थियो । 

दुवै घटनाको प्रकृति एउटै भएपछि प्रहरीले दुवै घटनालाई संगै जोडेर अनुसन्धान गरेको थियो । हस्तकली र आइती दुवैको शव आफ्नै घरको कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा फेला परेको थियो । हस्तकलीको शव घटना भएको भोलीपल्ट फेला परेको थियो भने आइतीको शव पर्सिपल्ट फेला परेको थियो । 

हस्तकलीको हत्याको आशंकामा पक्राउ परेकी सिर्जनामाथि अनुसन्धान गर्दा उनले नै ५ वर्ष अघि आइतीको पनि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी थिइन् । दुवै हत्या चोरीकै लागि भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । सिर्जनाले दुवै महिलाको हत्या गरेर सुनका गहना चोरी गरेकी थिइन् ।  

यसैविच सोही घटनामा पक्राउ परेका २ जना सुनचाँदी व्यवसायी भने धरौटीमा रिहा भएका छन् । अदालतले मुसिकोट नगरपालिका १ खलंगाको माथिल्लो बजारको राप्ती सुनचाँदी पसलकी शोभाकुमारी सुनार सोनीलाई ८० हजार र तल्लो बजारमा संचालित नारायणि सुनचाँदी पसलका संचालक कृष्णबहादुर विश्वकर्मालाई ५० हजार धरौटीमा रिहा गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । 

हस्तकली र आइतीको हत्या गरी सिर्जनाले चोरेका गहना खरिद गरेको भन्दै प्रहरीले व्यवसायी सुनार र विश्वकर्मालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update