नेकपा माओवादी केन्द्रका सबै नेताहरु गाउँ गाउँमा छन् । गत मंसिरमा संघ र प्रदेश सभा सदस्य निर्वाचनको चुनावपछि माओवादी अभियान नै लिएर पहिलो पटक गाउँ पसेको छ । शनिबार प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासंग माओवादीः विशेष रुपान्तरण अभियानको देशभरमा एकैपटक उद्घाटन गर्नुभयो । नेताहरु भने त्यसअघि नै गाउँ पुगिसकेका थिए । साउन तेस्रो साता काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले देशभरमा तीन महिने अभियान संचालन गर्ने निर्णय गरेको थियो । माओवादीले यो अभियानलाई पार्टी सुदृढिकरणको अन्तिम परीक्षा समेत भनेको छ ।
केन्द्रीय समितिको निर्णय अनुसार अभियान संचालन हुनुपूर्व नै नेताहरुको कार्यविभाजन गरिएको थियो । सो अनुसार नेताहरु शनिबार अभियानको औपचारिक उद्घाटन हुनुपूर्व नै आफ्नो कार्यक्षेत्रमा पुगिसेका थिए । पार्टी अध्यक्ष देखि शिर्ष सहित सबै नेताहरुलाई कार्यक्षेत्र तोकेर परिचालन गरिएको छ । नेताहरुलाई अन्तर प्रदेश, अन्तर जिल्ला र अन्तर पालिकामा परिचालन गरिएको छ । एक ठाउँका नेता अर्को ठाउँमा गएका छन् । यसबाट पार्टीको खास अवस्था बाहिर आउने माओवादीले अपेक्षा गरेको छ । यो अभियानलाई माओवादीले पार्टीको पुनर्जीवनका रुपमा लिएको छ ।
खस्कदै गइरहेको पार्टीको शाख जोगाउने र पार्टीलाई पुनः बलियो बनाउनेगरी अभियान केन्द्रीत हुने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका इन्चार्ज गगन खड्का जीवन बताउनुहुन्छ । ‘विभिन्न कारणले माओवादी पार्टी कमजोर बन्दै गयो, त्यसको समिक्षा अब पनि नगर्ने हो भने पार्टी झनै कमजोर हुने निश्चित छ, अब हामी समिक्षा गर्छौं, उहाँले भन्नुभयो–तीन महिने अभियानले पार्टीलाई पुनः सशक्त बनाउनेमा हामी विश्वस्त छौं ।’ माओवादी कमजोर हुनुमा माओवादी नै दोषि रहेको उहाँको भनाई छ । ‘जनता कतै गएका छैनन्, उनीहरु हामीसंग रुष्ट छन्, त्यो हाम्रै कारणले हो, उहाँले भन्नुभयो–अब हामी आफु आफुबाट बदलिनुपर्छ, सबैभन्दा पहिला म बाट सुरु गर्नुपर्छ ।’
सारा व्यवस्था बदल्न माओवादीले नै योगदान गरेको, माओवादीकै एजेण्डामा देश चलेका कारण माओवादीका पक्षमा ठूलो लहर हुनुपर्नेमा हालिमुहाली भने अरु नै दलको हुनु माओवादीका लागि ठूलो दुर्भाग्य भएको खड्काले बताउनुभयो । अब माओवादी सच्चिनुपर्ने र पुनः माओवादीका पक्षमा लहर सिर्जना गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । त्यसैका लागि यो अभियान रहेको उहाँले बताउनुभयो ।
माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोका यो अभियान पूर्णतया पार्टी सुदृढिकरणमा केन्द्रीत हुने बताउनुहुन्छ । संगठन विस्तार, जनवर्गिय संगठन निर्माण तथा पुनर्गठन, सदस्यता वितरण, नविकरण, जनभेटघाट, छलफलका साथै सरकारले गरेका राम्रा कामका बारेमा जनतालाई बुझाउने देखि जनताका समस्यामा पनि छलफल केन्द्रीत रहने उहाँले बताउनुभयो । यसका लागि जिल्लामा सबै तयारी पुरा गरेर अभियानमा होमिएको उहाँको भनाई छ । सबै नेताहरु पूर्ण तयारीका साथ गाउँ गाउँमा खटिएको संयोजक रोकाले बताउनुभयो ।
६ स्थानीय तहका ७३ वटै वडामा नेताहरु जिम्मेवारी लिएर खटिएको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । देशव्यापी रुपमा पार्टी अध्यक्ष प्रचण्डले अभियानको उद्घाटन गरेपनि वडा वडामा पनि उद्घाटन कार्यक्रम संचालन भएका थिए । शनिबार जिल्लाका सबै वडामा औपचारिक कार्यक्रम गरी अभियानको सुरुवात गरिएको माओवादी केन्द्रले जनाएको छ ।
उत्साहजनक रुपमा अभियानको सुरुवात भएको नेकपा माओवादी केन्द्र मुसिकोट नगरपालिका अध्यक्ष दलबहादुर खड्काले बताउनुभयो । आफु पनि १० नम्बर वडाको इन्चार्जको रुपमा खटिएको र उत्साहजनक रुपमा जनताको सहभागितामा अभियानको सुरुवात गरिएको उहाँको भनाई छ । उहाँका अनुसार अभियानप्रति जनताको सकारात्मक चासो देखिएको छ । ‘सरकारका कामकारबाहीबाट जनता आशावादी देखिएका छन्, देशमा केही गर्ने पार्टी माओवादी हो भन्ने जनतामा परेको छ, अभियान सुरुवातका क्रममा जनताको साथले पनि त्यसलाई पुष्टी गरेको छ, उहाँले भन्नुभयो ।’ यही रफ्तारमा सरकारले काम गर्ने हो र माओवादीहरुले सच्चिएर अघि बढ्ने हो भने माओवादीलाई ठूलो दल बन्नबाट कसैले रोक्न नसक्ने उहाँको दाबी छ ।