Kakhara सबैको खबर सम्पूर्ण खबर
‘म बनाउछु मेरो गाउँ’ अभियानको विधिवत सुरुवात
'म बनाउउछु, मेरो गाउँ' अभियान अन्तर्गत जनविकास माविमा श्रमदान गर्न पुगेकाहरु ।

‘म बनाउछु मेरो गाउँ’ अभियानको विधिवत सुरुवात भएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १०, घारीखोलाका नागरिकले नागरिक स्तरबाटै गाउँ बनाउने अभियानको सुरुवात गरेका हुन् । व्यक्ति/व्यक्ति मिलेर गाउँको समग्र विकास गर्ने उद्देश्य सहित घारीखोलाबासी जुटेका छन् । नगरपालिकासँग मिलेर गाउँ बनाउने लक्ष राखिएको उनिहरुले बताएका छन् । अभियानका लागि आफ्नो आर्थिक अवस्था अनुसारको आर्थिक सहयोग दिने तथा सहयोग जुटाउने काम भइरहेको छ ।

किसान, कर्मचारी, शिक्षक, बुद्धिजिवि, युवा तथा रोजगारीको शिलशिलामा बाहिर विभिन्न देश रहेकाहरुले गाउँ बनाउने अभियानमा लागि परेका छन् । सकेको आर्थिक सहयोग गर्ने तथा सहयोग संकलनको सहजिकरण, भूमिका निर्वाको काम भइरहेको छ ।  गाउँ बनाउने अभियान विद्यालयबाट थालनी भएको छ । जनविकास माध्यामिक विद्यालयको समग्र विकासका लागि पहिलो काम थालिएको छ ।

काम सुरुवात भएको दुई दिनमा विद्यालयका दुई वटा पूराना भवन भत्काइ नयाँ निर्माणको सुरुवात भइसकेको छ । ‘म बनाउछु मेरो गाउँ’ अभियान सञ्चालन गरिरहेको ‘म बनाउछु मेरो गाउँ’ क्लवका अध्यक्ष भिमराज केसीले गाउँको विद्यालयबाट गाउँ बनाउने अभियानको सुरुवा गरिएको जानकारी दिनुभयो । पहिलो चरणमा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा लागिएको केसीले बताउनुभयो ।

१६ दिनमा १६ कोठाका ४ भवन निर्माण हुनेछन् । २ वटा नयाँ भवन बन्नेछन् भने २ वटा भवनमा नयाँ तला थप गरिने छ । शैक्षिक सुधारको महत्वपूर्णमध्य भौतिक पूर्वाधार सुधार्ने योजना अनुरुप पूराना संरचना भत्कार नयाँ निर्माणका थालनी गरिएको उहाँले बताउनुभयो । भौतिक संरचना निर्माणपछि विद्यालयको शैक्षिक सुधारमा ध्यान लगाइने छ ।

शिक्षक तथा विद्यार्थीको आवास सहितको संरचना विद्यालयमा हुनेछ । पठन पाठनलाई अंग्रेजि माध्यममा लगिनेछ । कक्षा ९ र १० का विद्यार्थीलाई आवासिय रुपमा राखेर पठन पाठनलाई व्यवस्थित गरी शैक्षिक गुणस्तर बढाउने प्रयास हुने अभियानले जनाएको छ । विद्यालयको भौतिक र शैक्षिक अवस्थामा सुधार आएपछि यो अभियानले गाउँका अरु विकास निर्माणको काम अघि बढाउनेछ । 

अभियानका लागि हालसम्म ३९ लाख रुपैयाँ संकलन भएको छ । जसमध्य केही प्रतिबद्धता भएको रकम हो भने केही रकम अभियानको खातामा जम्मा भइसकेको छ ।  यसमा ३४ लाख रुपैयाँ नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

अभियानमा लागेकाहरु सहयोग संकलनमा जुटिरहेका छन् । अभियानका एक सदस्य एकराज केसीले सहयोग संकलन भइरहेको र अरु सहयोगिसँग पनि कुरा भइरहेको बताउनुभयो । यो अभियानमा सबैको सहयोग रहेको अरुलाई पनि सहयोगका लागि आह्वान गरेको एकराजले बताउनुभयो । आठबीसकोट नगरप्रमुख गोर्खबहादुर केसीले युवाहरुले नमूना काम सुरु गरेको बताउनुभयो ।

आ-आफ्नो गाउँ बनाउनका लागि संसारभर रहेका नेपालीले योगदान गर्नुपर्छ भन्ने मान्यता स्थापना गर्न र स्थानीय सरकारसँग मिलेर गाउँ र नगर बनाउनका लागि यो अभियान प्रेरणादायी हुने भनाई नगरप्रमुख केसीको छ । अभियानमा श्रमदान गर्नेहरु पनि आइरहेका छन् । आर्थिक सहयोग श्रमदानका लागि अभियानले सबैलाई आग्रह गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update