रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडामा विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा ज्यान गुमाएका दाजु बहिनीको परिवारलाई चौरजहारी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । आज नगरपालिकाले शोक वक्तव्य जारी गर्दै बालबालिकाले ज्यान गुमाउनु परेको घटनाप्रति दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने जनाएको हो ।
नगर प्रमुख पुष्प वादीले शोक वक्तव्य जारी गर्दै पीडित रतन बढाथोकीको परिवारलाई राहतका लागि आवस्यक पहल तथा प्रवन्ध गर्ने विश्वास दिलाउनु भएको छ । हिजो खोलाले बगाउँदा ज्यान गुमाएका दाजु बहिनीको शव पोष्टमार्टमको लागि लैजान नगरपालिकाले एम्बुलेन्स सहयोग गरेको थियो भने क्रिया खर्चपनि दिने नगरपालिकाले जनाएको छ ।
हिजो अपरान्ह विद्यालयबाट घर फर्किने क्रममा रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ५ वर्षिया छोरी भावनालाई नाउला खोलामा आएको बाढीले बगाउदा मृत्यु भएको थियो । साथै हिजो नै हावाहुरीले किसानको मकै बालीमा पुर्याएकाले क्षतिको विवरण संकलन गरेर किसानलाई राहतको व्यस्थापन गरिने समेत चौरजहारी नगरपालिकाले जनाएको छ । त्यस्तै नगरपालिकाले विपत्बाट जोगिन नगरवासीलाई अनुरोध गरेको छ ।
यसैविच बिद्यालयबाट घर फिर्किदै गरेका दाजु बहिनीलाई नाउला खोलाले बगाएर मृत्यु भएपछि घटनाप्रति दुःख व्यक्त गर्दै नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूले राहतको माग गरेका छन् ।