रूकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा रहेको स्यार्पू तालमा सरसफाई गरिएको छ । वडा नम्बर ३ र ५ मा रहेको तालमा नेपाली सेनाको चण्डीदल गण सल्लको अगुवाईमा सरसफाई गरिएको हो । यसमा बाँफिकोट गाउँपालिकाको समन्वय तथा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्य थियो ।
तालको सुन्दरता र पर्यावरणीय स्वच्छताका लागि सरसफाई गरिएको चण्डीदल गण सल्लेका गणपति पमुख सेनानी बरूण केसी खत्रीले जानकारी दिनुभयो । ताल र ताल छेउछाउमा रहेको फोहोर हटाइएको उहाँले बताउनुभयो । त्यस्तै ताल छेउछाउमा रहेका झाडि समेत हटाइएको छ ।
सरफाईमा नेपाली सेनाका ७० जना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मका २०–२० जना गरी १ सय १० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठा, निमित्त प्रमुख जिल्ला अधिकारी प्रमेश बडुवाल, चण्डीदल गणका गणपति बरुण केसी खत्री, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्राई, सशस्त्र प्रहरी प्रमुख सुमन लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।