रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको स्यार्पूताल माविका विद्यार्थीहरुलाई शान्ति सुरक्षा र लागु औषध नियन्त्रण सम्बन्धी जानकारी गराइएको छ । समाजमा शान्ति अमन चयन कायम गर्न विद्यार्थीहरुलाई शान्ति सुरक्षा र लागु औषध नियन्त्रण सम्बन्धी सचेत बनाइएको हो ।
नेपाली सेनाको चण्डीदल गण सल्लको अगुवाई, बाँफिकोट गाउँपालिकाको समन्वय तथा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा कार्यक्रम संचालन गरिएको हो । समाजमा हुने विभिन्न अपराधिक गतिविधि, त्यसबाट बच्ने उपाय, घटना भएमा के गर्ने, कुलतबाट कसरी जोगिने, लागु औषध र यसले व्यक्तिगत स्वास्थ्य तथा समुदायमा पार्ने असर लगायतका बारेमा जानकारी गराएको थियो ।
त्यस्तै विष्फोटक पदार्थका बारेमा समेत बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो । बिद्यार्थीहरुलाई शान्ति सुरक्षा र लागु औषध नियन्त्रणका बारेमा जानकारी गराई समाजमा अमन चयन कायम गर्ने उद्ेश्यले कार्यक्रम आयोजना गरिएको चण्डीदल गणका गणपति प्रमुख सेनानी बरुण केसी खत्रीले बताउनुभयो ।
बिद्यार्थीले घरमा गएर आमा बुवा तथा परिवारका अन्य सदस्यलाई बताउन सक्ने र अहिलेका बालबालिका भोलीका कर्णधार भएकोले उनीहरुलाई कुलतमा फस्न नदिन तथा शान्ति सुरक्षा कायम राख्ने उद्ेश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले गाउँ तथा परिवारमा घटना भएमा के गर्ने, अपराधिक घटनाबाट कसरी बच्ने, बालविवाह नियन्त्रण लगायतका बारेमा सहजिकरण गर्नुभएको थियो ।
त्यस्तै विष्फोटक पदार्थ र यसबाट बच्ने उपायका बारेमा प्रमुख सेनानी खत्रीले जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्यार्पूताल माविका बिद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।