आइतबार साँझको हावाहुरीले मकै लगायतका बर्खेबालीमा क्षेति गरेको छ । बर्षासंगै आएको हावाहुरीले रुकुम पश्चिम, रुकुम पूर्व लगायतका जिल्लामा मकै लगायतका बालीमा क्षेति गरेको किसानहरुले बताएका छन् । भित्र्याउने बेलाको मकैमा हावाहुरीले क्षेति गरेपछि किसानहरु चिन्तित बनेका छन् ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १३ र १४ मा मकै बालीमा ठूलो क्षेति पुगेको छ । त्यस क्षेत्रका करिब २ सय ६० घरपरिवारको १ सय ५० बिघा जग्गामा लगाएको मकै बालीमा क्षति भएको बताइएको छ । पाक्नै लागेको मकैबाली हावा सहितको पानीले ढालेको छ ।
४ महिना मात्र पुग्ने मकै बाली हावाहुरीले क्षति गरिदिएपछि के खाने भन्ने चिन्ता लागेको आठबीसकोट १४ का कृषक खम्मु मल्लले बताउनुभयो । बाली बीमा कार्यक्रम लागु नहुँदा बर्षेनी किसानहरुले यस्तै क्षति व्यहोर्नुपरिरहेको उहाँको भनाई छ ।
त्यस्तै जिल्लाको चौरजहारी नगरपालिकामा हावाहुरीले सयौँ हेक्टर जमिनमा लगाइएको मकै बाली नष्ट गरेको छ । नगरपालिकाको वडा नम्बर १ नाखिरा, घारीगाउँ, लामिछानेगाउँ, वडा नम्वर २ को रुकुमेगाउँ, लापुलेगाउँ, वडा नम्वर ३ को टाटागाउँ स्यालखोला, उमाचौर, वडा नम्वर ४ मनकोट, अम्लाटाकुरा, ५ को खहरे लहरेसिमल, ६ नम्वर वडाको घर्तिकाँडा, खागल, वडा नम्वर ७ को कुमाईगाउँ, खत्रीगाउँ, नार्जी, वालुवा, वडा नम्बर ८ को वसिगाउँ, सोतीखोला, वडाखोला, सोती गेष्मा, गोईरी लगायतका ठाउँमा क्षति पुर्याएको छ ।
त्यस्तै वर्षासंगै आएको हावाहुरीले वडा नम्वर ९ को कोटगाउँ, गुर्तालगाउँ, लेक नार्जी, माझमेला, वडा नम्वर १० को चिन्नेवगर मानाकोट, ११ को चौफा, सर्केना, १२ को जोगिनेटा, पुरानापानी, स्यानाखोला, १३ को घरेलीचौर छेर्नी, एकौली, र वडा नम्वर १४ को नुवाकोट, साक्चाखोला लगाएतका ठाउँमा कृषकहरुले लगाएको अन्नवालीमा पनि क्षेति पुगेको छ ।
हावाहुरीले चौरजहारी नगरपालिकाका १४ वटै वडामा क्षेति पुगेको वडा नम्बर २ का वडाध्यक्ष बीरवहादुर रानाले जानकारी दिनुभयो ।
रुकुम पूर्वमा पनि क्षेति पुगेको छ । सिस्ने गाउँपालिका वडा नम्बर २ को लैपा, प्वाङ, किँदा, दत्तकुना सुद्री लगायतका ठाउँमा लगाइएको मकै बालीमा हावाले क्षेति गरेको हो । भर्खर धानचवँर खेलिरहेको मकै हावाले पूर्ण रुपमा क्षति गरेपछि किसान चिन्तित भएका छन् । यस्तै वडा नम्बर १ को विभिन्न ठाउँमा लगाइएको मकै बालीमा पनि हावाले क्षति गरेको छ ।
वडाको भट्टेचौर, पाखापानी, ठुलो सिस्ने, ओख्रेना लगायतका ठाउँमा लगाइएको मकैमा क्षति गरेको सिस्ने १ भट्टेचौर की देबि पुनले जानकारी दिनुभयो । जिल्लाका अन्य ठाउँमा पनि हावाले मकै बालीमा ठूलो क्षति गरेको छ । मुख्य बालीको रुपमा रहेको मकै हावाले क्षति गरेपछि भोकमरीको समस्या हुने भन्दै किसान चिन्तामा परेका छन् ।।