रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का वडा सदस्य सन्तोस ओलीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । जन्मदिनको अवसरमा गत साल स्थापना गरिएको शुभारम्भ अक्ष्यकोषमा जम्मा भएको व्याजबाट २ जना अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो । हिमालय जनता माविमा अध्यनरत शारीरिक अपाङ्गता भएका १ छात्र र १ छात्रालाई कापी र कमल वितरण गरिएको ओलीले बताउनुभयो ।
उहाँका अनुसार कक्षा ८ मा अध्यनरत छात्र यामराज केसी र कक्षा १ मा अध्यनरत छात्रा शुशिला बस्नेतलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । ओलीले गत वर्ष आफ्नो जन्मदिनको अवसरमा ११ हजार १ सय १ रुपैयाँको शुभारम्भ अक्षयकोष स्थापना गर्नुभएको थियो । उक्त कोषबाट हरेक वर्ष भदौ १९ गते गरिव, जेहेनदार तथा अपाङ्ग विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण भइरहेको उहाँले बताउनुभयो । ओली सोही विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ ।