लाखे जात्रा यो वर्ष पनि रुकुम पश्चिममा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष गाँठे मंगल देखि श्रीकृष्ण जन्माष्टमिको भोलिपल्टसम्म चल्ने परम्परागत लाखे जात्रा बिहिबार सकिएको छ । कंसलाई कुखुरा भोग दिएर शुरु गरिएको लाखे जात्रा श्रीकृष्णाष्टमीको भोलीपल्ट बिहिबार कंसलाई नै मारेर समापन गरिएको हो । बोकालाई कंस मानेर बलि दिएपछि लाखे नाचको औपचारिक समापन भएको मानिन्छ ।
मुसीकोट १ खलंगाको बराहटाकुरारामा कंसलाई मारेर लाखे नाच समापन गरिएको लाखे नाच संरक्षण समितिका अध्यक्ष चुडामणी नेपालीले जानकारी दिनुभयो । द्धापरयुगको अन्त्यतिर वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा जन्मिएका श्रीकृष्णले कंसलाई मारेको सम्झनामा रुकुम पश्चिममा २०४० सालदेखि हरेक वर्ष लाखे जात्रा मनाउँदै आइएको छ ।
भगवान कृष्णलाई मार्न कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरुपमा सजिएर रुकुममा हरेक वर्ष लाखे नाच्ने परम्परा रही आएको छ । कंसलाई मार्नु अघि श्रीकृष्ण सहित राक्षसको स्वरुपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई श्रृंगारेर नचाउँदै वजार परिक्रममा गराईन्छ ।
यसअघि जनैपूर्णीमा (रक्षाबन्धन) देखि खलंगा बजार र असपासका ठाउँमा लाखे नाच्दै भेटी संकलन समेत गर्ने गरिन्छ । उक्त भेटी समापन कार्यक्रममा खर्च गर्ने गरिएको संरक्षण समितिका अध्यक्ष नेपालीले बताउनुभयो । लाखे नाच हेर्न बिहिबार गाउँ–गाउँबाट सर्वसाधारण सदरमुकाममा पुगेका थिए ।