रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा सुरक्षित जनता आवास कार्यक्रम मार्फत १ हजार १ सय २० घरमा छाना फेरिएका छन् । वितेको आर्थिक वर्षमा नगर भित्रका १४ वटा वडाका १ हजार १ सय २० घरधुरीमा खरका छाना फेरिएका हुन् । सुरक्षित जनता आवास कार्यक्रम मार्फत नगर भित्रका १ हजार १ सय २० घरमा खरको छाना हटाएर जस्तापाता राखिएको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकामा अझै ४ सय ८० घरमा खरका छाना हटाउन बाँकी छ । गत आर्थिक वर्षमा नगरपालिकाले १ हजार ६ सय खरका छाना भएका घरधुरीको लगत संकलन गरेको थियो । त्यसमध्ये १ हजार १ सय २० घरमा खरको छाना हटाएर जस्तापाता राखिएको हो । यसका लागि टेन्डर प्रक्रिया मार्फत हुलास स्टिल उद्योग कम्पनीले ८ करोड ५७ लाखमा ठेक्का लिएको थियो ।
छाना फेर्नका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहयोग गरिएको थियो । ठुलो घर हुनेलाई ५० हजार रकम बराबरको जस्तापाताले नपुग्ने हुँदा ठेक्का मार्फत जस्तापाता उपलब्ध बनाउने जिम्मा दिँदा स्थानीयलाई राहत मिलेको नगरपालिकाले जनाएको छ ।