Kakhara सबैको खबर सम्पूर्ण खबर
विद्यालय बन्द गरेर प्रतियोगिता

१९ गते देखि सानोभेरी मावि बन्द छ । विद्यार्थीले संयमसेवक लेखेको कार्ड झुन्डाएका छन् । विद्यालय परिसर दर्शकले खचाखच भरिएको छ । विद्यालय हाताभित्र विविध खेलकुद प्रतियोगिता संचालन भई रहेका छन् । यो दृश्य हो सिस्ने गाउँपालिका वडा नम्बर ८ लम्पाकोट रुकुम पूर्वको । हिमालयन युवा विकास केन्द्रले छैटौ बार्षिक उत्सवको अवसरमा विद्यालयको खेल मैदानमा खेलकुद संचालन गरेको छ । यसले गर्दा विद्यार्थीको शैक्षिक क्षेत्रमा असर त परेको छ नै विद्यालयको भौतिक संरचनामा पनि उत्तिकै क्षति पुगेको छ ।

विद्यालय बन्द हुँदा प्रत्यक्ष पढाईमा घाटा भएको कक्षा ८ मा अध्ययरत छात्रा दिक्षा नाथले बताउनुभयो । विनाकारण विद्यालय बन्द हुँदा समय मै पाठ्यक्रम नसकिने चिन्तामा बिद्यार्थीहरु छन् । नियम अनुसार विद्यालय बन्द गरेर खेलकुद प्रतियोगिता संचालन गर्न मिल्दैन । तर यहाँ खेल मैदान अभाबको कारण देखाउदै विगत ६ वर्ष देखि विद्यालयमै खेलकुद प्रतियोगिता हुदैँ आएका छन् । खेलकुद संचालन हुदाँसम्म हरेक वर्ष विद्यालय बन्द हुने गरेको स्थानीय इन्द्रबहादुर खत्री बताउनुहुन्छ । 

374989737_1352713245327494_4536464133223602987_n1694254975.jpg
विद्यालय प्रांगनमा जारी भलिबल प्रतियाेगिता ।

हिमालयन युवा विकास केन्द्रका अध्यक्ष बलबिर घर्तीले खेल मैदान अभावका कारण विद्यालयमा खेलकुद प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो । विद्यालय भने हरेक वर्ष हिमालयन युवा विकास केन्द्रको अनुरोधका आधारमा विद्यालय हाताभित्र खेलकुद प्रतियोगिता संचालन गर्न दिने गरेको बताउँछ । यो वर्ष पनि केन्द्रले खेल संचालनका लागि विद्यालयमा निवेदन दिएको थियो । उक्त निवेदनको आधारमा विद्यालय बन्द गरेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक कृष्ण नाथले विद्यालयमा कुनै क्षति भयो भने आयोजकले त्यसको मर्मत गर्ने शर्तमा प्रतियोगिता संचालन गर्न दिएको बताउनुभयो । विद्यालयमा जस्तो सुकै क्षति भए पनि त्यसको जवाफदेही आयोजक हुनुपर्ने शर्त रहेको प्रअ नाथले बताउनुभयो । दुई दिन सार्वजनिक बिदा परेको र तीन दिन विद्यालय बन्द गर्नु परेको विद्यालयको भनाई छ । 

अहिले विद्यालयको खेल मैदानमा महिला पुरुष भलिबल प्रतियोगिता भइरहेका छन् । लोक दोहोरी तथा महिला पुरुष रस्साकस्सीका साथै घैण्टोफोर प्रतियोगिता पनि संचालन गर्ने आयोजकको भनाई छ । प्रतियोगिता भदौ २३ गतेसम्म संचालन हुने हिमालय युवा विकास केन्द्रका अध्यक्ष बलबिर घर्तीले जानकारी दिनुयभो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बुढा भने विद्यालयमा हुने यस्ता कार्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक ज्ञान हासिल हुने दाबी गर्नुहुन्छ । किताबमा पढेको कुरालाई खेलकुदका माध्यमबाट व्यवहारमा उतार्न यस्ता कार्यक्रमले उर्जा प्रदान गर्ने उहाँको भनाई छ । 

373488459_274362625459163_4951062040234037988_n1694254975.jpg

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पूर्वका प्रमुख तिलक गौतमले  विद्यालयसँग सम्बन्धित कार्यक्रम बाहेक अन्य कार्यक्रम बिद्यालय हाताभित्र गर्न नपाइने बताउनुभयो । सिस्ने गाउँपालिकाले यसबारेमा कुनै जानकारी नरहेको बताएको छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बिद्यालय बन्द गरेर खेलकुद कार्यत्रम संचालन गरिएको बारेमा कुनै जानकारी नभएको बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update