रुकुम पश्चिममा पहिलो पटक ‘ख’ वर्गको एम्बुलेन्स संचालनमा आएको छ । शुक्रबार चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले जिल्लामा पहिलो पटक ‘ख’ वर्गको एम्बुलेन्सको सेवा उद्घाटन गर्नुभयो । मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालले ‘ख’ वर्गको एम्बुलेन्स संचालनमा ल्याएको हो ।
चौरजहारी अस्पतालको प्रांगनमा एक कार्यक्रमका विच नगर प्रमुख वादीले एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएको हो । नेपाल सरकारको राजस्व छुट सहित २४ लाख ६६ हजार १ सय १८ रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको अस्पतालका मेडिकल इमर्जेन्सी हेल्थ रेस्क्यू परियोजना अधिकृत वासुदेव सापकोटाले जानकारी दिनुभयो ।
उक्त एम्वुलेन्सले आवश्यकताका आधारमा रुकुम पश्चिम, सल्यान, जाजरकोटका स्थानीयलाई सेवा दिने छ । जिल्लामा उपचार सम्भव नभई जिल्ला बाहिर लैजानुपर्ने बिरामीलाई यो एम्बुलेन्सले थप सजिलो हुने चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले वताउनुभयो । यो जिल्लामा हाल संचालनमा रहेका एम्बुलेन्स मध्येमा सबैभन्दा बढी सेवा सुविधा सहितको रहेको उहाँले बताउनुभयो ।
यो एम्बुलेन्समा स्वास्थ्यकर्मीको समेत व्यवस्था रहने छ । जिल्लामा हालसम्म अक्सिजनको सुविधा सहितका एम्बुलेन्स संचालनमा रहेपनि स्वास्थ्यकर्मीको सुविधा सहितको एम्बुलेन्स भने पहिलो पटक संचालनमा आएको हो । यसबाट विरामीलाई बाटोमा हुने समस्या कम हुने विश्वास गरिएको छ ।
सेवा सुविधाका आधारमा एम्बुलेन्सको वर्गिकरण गरिएको छ । हालसम्म जिल्लामा ‘ग’ वर्गसम्मका एम्बुलेन्सहरु मात्र संचालनमा थिए । चौरजहारी अस्पतालले रुकुम पश्चिम, सल्यान, जाजरकोट र डोल्पासम्मका बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको छ ।