तिमी हाँसेर हुँदैन
भोका नाङ्गा हाँस्नुपर्छ ।
मातृभूमिले रगत मागे
तिमी हरहमेशा तयार हुनुपर्छ ।
सुतेका सारा वस्तीहरु
रुपान्तरणको लागि तयार हुनुपर्छ ।
फुटेका सारा शक्तिहरु
एउटै फूलको मालामा उनिनुपर्छ ।
दासताको जन्जिर तोड्न
वस्ती वस्तीमा मुक्तिका गीत गाउनुपर्छ ।
विजयका शिखर चुम्न
जनजनका मनमनमा दिनरात बस्नुपर्छ ।
मुक्तिको गाथा चिनाउन
जनताकै आँगनमा सुत्नुपर्छ ।
सहिदहरुको वीरता र आँसु पुछ्न
पलपलमा साक्षात्कार गर्नुपर्छ ।
देशद्रोहीहरुलाई चिनाउन
जनताकै काखमा बस्नुपर्छ ।
सुशासनको अर्को नवीन लडाइँमा
जोकोहीलाई
गोलघरको चिसो खुवाउनुपर्छ ।
अरु होइन पहिले
म रुपान्तरण हुनुपर्छ भनौं,
शरीरमा एक थोपा रगत रहेसम्म
देश अनि जनताको
न्याय र मुक्तिकै लागि लड ।
यदि मर्नै परे हाँसी हाँसी
अजय जनताकै लागि सुली चढ ।
२०८०/०५/२२