नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिमले तीन स्थानीय तहको बैठक गरेको छ । मुसीकोट र आठबीसकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाको पार्टी बैठक सम्पन्न गरेको हो । एकता भइसकेको माओवादी केन्द्र र एमालेको पार्टी अस्तित्वमा आउने गरी सर्वोच्च अदालतको फैसला आएपछि दुवै पार्टी सक्रियताका साथ लागेका छन् ।
यसै सन्दर्भमा जिल्ला पार्टीको बैठक गरिसकेको माओवादी केन्द्रले सोमबार मुसीकोट, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको बैठक बसेको हो । बैठकले वडा तथा सेल कमिटि पूर्नगठन तथा पूर्नव्यवस्थित गर्ने निर्णय गरेको छ । फेरि पार्टी अस्तित्वमा आएको भन्दै यस अघिका पालिका, वडा तथा सेल कमिटिलाई पूर्नगठन तथा पूर्नव्यवस्थित गर्ने निर्णय गरिएको छ । यसैगरी जनआन्दोलन दिवशको अवसरमा चैत २४ गते जिल्लामा हुने पार्टी कार्यक्रममा व्यापक जनसहभागिता जनाउने निर्णय पनि भएको छ ।
मुसीकोट नगर अध्यक्ष जयबहादुर पाण्डेले नगर पार्टीको बैठकले तल्ला कमिटिका बैठक गरेर आवश्यक्ता अनुसार कमिटि थपघट निर्णय गरेको जानकारी दिनुभयो । चैत २४ गते आयोजना गरिएको कार्यक्रममा भव्य सहभागिता जनाउने निर्णय र त्यसका लागि आवश्यक तयारीका लागि कार्यक्रम पनि बनाइएको अध्यक्ष पाण्डेले बताउनुभयो । मुसीकोटको बैठकको सञ्चालन सहजिकरण अध्यक्ष पाण्डेले, आठबीसकोटको बैठकको सञ्चालन सहजिकरण सचिव रवि केसी र सानीभेरी गाउँपालिकाको बैठकको सञ्चालन सहजिकरण अध्यक्ष टेकबहादुर पुनले गर्नुभएको थियो ।
मुसीकोटको बैठकमा जिल्ला इन्चार्ज राजकुमार शर्मा, सह इन्चार्ज वसन्तकुमार शर्मा, सानीभेरी गाउँपालिकाको बैठकमा जिल्ला अध्यक्ष गोपाल शर्मा र आठबीसकोट नगर कमिटिको बैठकमा कर्णाली प्रदेश सदस्य तथा नेता महेन्द्र केसीको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष शर्माले जिल्ला कमिटिको निर्णय अनुसार नै पालिकाका बैठक बसेको र सोही निर्णयकै आधारमा सबैतिर वडा र सेल कमिटि पूर्नव्यवस्थित गर्ने निर्णय हुने र भइरहेको बताउनुभयो ।
माओवादी केन्द्र अस्तित्वमा आएपछि चैत १३ गते जिल्ला कमिटिको पहिलो बैठक बसेको थियो । सोही बैठकले पालिका कमिटिको बैठक तय गरेको थियो । १७ गते मंगलबार चौरजहारी नगरपालिका, बाँफिकोट र त्रिवेणि गाउँपालिकाको बैठक बस्ने कार्यक्रम तय भएको छ ।