रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ लम्पाकोटमा संचालित महिला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । हिमालयन युवा विकास केन्द्रले आफ्नो छटौं बार्षिक उत्सवको अवसरमा आयोजना गरेको खुला शुद्ध वडा स्तरिय भलिबल प्रतियोगिता आज सम्पन्न भएको हो ।
रुकुम पूर्व र रुकुम पश्चिमका १९ टिमले प्रतिस्पर्धा गरेको पुरुष भलिबल तर्फ आयोजक ए प्रथम भएको छ । शनिबार साँझ भएको फाइनलमा सिस्ने गाउँपालिका वडा नम्बर ४ लाई ३÷१ को सेटमा पराजित गदै आयोजक प्रथम भएको हो ।
प्रथम भएको आयोजकले नगद ३५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै दोस्रो भएको सिस्ने ४ ले नगद २५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो भएको रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ ले नगद १५ हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
यस्तै ६ टिमको सहभागिता रहेको महिला भलिबल प्रतियोगितामा बाँफिकोट गाउँपालिका वडा नम्बर २ प्रथम भएको छ । आज बिहान सानीभेरी माविको खेल मैदानमा भएको फाइनलमा सिस्ने ४ लाई पछि पार्दै बाँफिकोट २ प्रथम भएको हो । यस्तै सिस्ने ४ दोस्रो र बाँफिकोट ४ तेस्रो भएका छन् । प्रथम दोस्रो र तेस्रोले क्रमशः दश, सात र पाँच हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक हिमालयन युवा विकास केन्द्रका अध्यक्ष बलबिर घर्तिले जानकारी दिनुभयो ।
समय अभावका कारण लोक दोहोरी, घैंटोफोर र महिला पुरुष रस्साकस्सी प्रतियोगिता भने संचालन हुन नसकेको आयोजकले जानकारी दिएको छ । आज एक कार्यक्रमका विच खेलकुद प्रतियोगिताको समापन गरिएको हो । खेलकुद सकिएपछि विद्यालयमा आजबाट नियमित पठनपाठन हुने प्रधानाध्यापक कृष्ण नाथले जानकारी दिनुभयो । खेलकुद प्रतियोगिताका लागि विद्यालय बन्द गरिएको थियो ।