जनजनमा माओवादी घरघरमा माओवादी भन्ने मूल नाराका साथ देशै भरी माओवादी केन्द्रको तीन महिने अभियान चलिरहेको छ । अभियान लिएर माओवादी केन्द्रका नेता गाउँ गाउँमा छन् । जनताका गुनासा, सल्लाह सुझाब सुन्दै माओवादी नेताहरु भेटभाटमा व्यस्त छन् । अभियान रुकुम पश्चिममा पनि जोडतोडका साथ चलिरहेको छ । अभियान अन्तर्गत संगठन विस्तार, सदस्यता वितरण, निर्माण तथा पुनर्गठन भइरहेको माओवादी केन्द्र रुकुम पश्चिमले जानकारी दिएको छ ।
जिल्लामा माओवादी भेटघाटमा मात्र व्यस्त छैन जनताको दैनिकीमा प्रत्यक्ष असर पारिरहेका समस्याहरुलाई पनि समाधान गरिरहेको छ । पुलपुलेसा, बाटोघाटो निर्माण तथा मर्मत र सार्वजनिक स्थलको संरक्षणमा माओवादी जुटेको छ । पार्टी रुपान्तरणको अभियान लिएर गाउँपसेको माओवादी श्रममा आधारित विकास निर्माणमा जोडिएको छ ।
शनिबार नेकपा माओवादी केन्द्र बाँफिकोटले जनतासंग भेटभाट संगै गोरेटो बाटो मर्मत गरेको छ । १ नम्बर वडाको बाउनच्युरी टोलमा करिब एक सय मिटर गोरेटो बाटो मर्मत गरेको हो । साँघुरो भएका कारण सोही बाटोबाट खसेर केही दिन अघि स्थानीयको भैँसी मरेको थियो । ठाउँ ठाउँमा भक्तिएको, खाल्डाखुल्डी र साँघुरो बाटोलाई मर्मत तथा चौडा बनाइएको माओवादी केन्द्र बाँफिकोटका सचिव हर्कु मल्लले जानकारी दिनुभयो ।
यस्तै वर्षातका कारण भत्किएको वडाको मुसीगारे स्थित बिरे दमाइको घर आजबाट मर्मत सुरु गरिएको छ । दमाइको घरको पश्चिम तिरको भाग भत्किएको छ । अहिले त्यही भत्किएको घरमा दमाइको परिवार बसिरहेको १ नम्बर वडा अध्यक्ष धनबहादुर खड्काले बताउनुभयो । पीडित परिवारलाई माओवादी केन्द्र बाँफिकोटका अध्यक्ष चन्द्रबहादुर केसीले नगद पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको छ । थोरै भए पनि राहात होस् भन्ने उद्देश्यले सहयोग गरेको उहाँको बताउनुभयो ।