कुनै समय थियो, तिज भन्ने वित्तिकै चेलीले वर्षभरीको दुःख, सुख व्यक्त गर्ने एक मात्र सृजनात्मक माध्यम बुझिन्थ्यो । तिजमा चेलीले वर्षभरीमा भोग्नुपरेका दुःख, वेदना गित मार्फत व्यक्त गर्थे । सासुबाट पाएका पीडा, नन्दबाट खेप्नु परेको हैरानी, श्रीमानबाट भएको हिंसा सबै तिजमा गित मार्फत व्यक्त हुन्थे । चेलीले माइती जान नपाएको पीडा पनि गितबाटै सुनाउँथे । तिजलाई चेलीले आफुहरुको सुख, दुःख विसाउने चौतारीका रुपमा लिन्थे । अहिले समय फेरियो । तिज अब चेलीको बेदना पोख्ने माध्यम रहेन् । हिजोको तिजको मिठास पनि अहिले भेटिन्न । चेलीका बेदना सुन्ने मौलिक पर्व तिज अव फेरिएको छ । भड्किलो भएको छ । तिजमा गाइने शब्द र भाका अब लगभग लोप भएका छन् । आमा, दिदी, बहिनीलाई अब तिजको भाका आउन छाडेको छ । अव तिज आफ्नो हैसियत देखाउने प्रतिस्पर्धाको चौतारी भयो भन्दा फरक नपर्ला । कसले धेरै लगाउने, कसले धेरै खाने भन्नेमा तिज केन्द्रित भएको छ । पुस्तान्तरण र आधुनिकरणका नाममा तिज अब मौलिक रहन सकेन । हाम्रा मौलिकता भन्दा धेरै पर पुगिसकेको छ तिज ।
शिव जी को मन्दिरमा धुपैको बासना
धरमीलाई बैकुण्ड, पापीलाई शासन ।
यि शव्द प्रयोग नगरी तिजमा गितै गाइदैन थियो । यसको लय पनि छुट्टै आनन्द दिने छ । तर आजभोली भने भड्किला र उत्तेजित शब्द प्रयोग गरेर गाइने गित र अश्लिल हर्कत देखाएर बनाइने भिडिओले परिवारका सबै सदस्य एकै थलोमा बसेर हेर्न सकिने अवस्था छैन् । वर्षेनी तिजमा विकृति मौलाउदो छ ।
शिव जी को मन्दिरमा माला टल्किन्छ
मन मेरो रुदैन राम हृदय दर्किन्छ ।
शिव जी को मन्दिरमा सिन्का चिर्ने आँसी
सलल नदीले लैजा मलाई काँशी ।
यिनै पुराना शब्द र भाकालाई छोपेर लोक गायक जय देवकोटाले तिजको भजन तयार पार्नुभएको छ । उक्त भजनले धेरैको मन जितिरहेको छ । धेरैले यो गितमा टिकटक समेत बनाइरहेका छन् । पुराना दिनलाई सम्झिदै भावुक हुनेहरु पनि धेरै छन् । यो भजनमा गायक देवकोटाकी आमाले श्वर दिनुभएको छ । गितका टुक्कामा उहाँकी आमा देवकुमारी देवकोटाले स्वर दिनुभएको छ भने विच विचमा उहाँको आवाजमा भजन समावेश छन् । यो भजनको निर्देशन मदन खड्काले गर्नुभएको हो ।
भावी पुस्ताका लागि शब्द संकलन गरेर रेकर्ड गरेको हुँ
भावी पुस्ताका लागि पुराना शव्दहरुलाई संकलन गरेर सोही लयमा गित रेकर्ड गराएको गायक देवकोटाले बताउनुभयो । ‘हिजो हाम्रा आमा दिदीहरु आधा रातसम्म भजन नगाई अरु गित सुरु गर्नुहुदैन थियो, तर अहिले त्यसो हुन छाड्यो, अहिलेकाले ति शव्द र लय भुलिसके, उहाँले भन्नुभयो–हाम्रो संस्कृतिलाई जोगाउन र भावी पुस्तालाई यसबारेमा जानकारी गराउन गित रेकर्ड गराएको हुँ ।’ अब यो गित सदिऔंसम्म रहने र यसले हाम्रो संस्कृति र मौलिकतालाई सम्झाई रहने उहाँको विश्वास छ । आफुले कुनै नयाँ सृजना गरेको नभई चलन चल्तिमै रहेका शब्द र लयलाई टिपेर पस्किएको उहाँ बताउनुहुन्छ ।
भिडिओ हेर्नुहाेस्