वर्षासंगै आएको हावाहुरीले मकै बालीमा ठूलो क्षती पुर्याएपछि राहत माग गर्न रुकुम पश्चिमका स्थानीय तहका जनप्रतिनिधिहरु भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेत पुगेका छन् । चौरजहारी नगर प्रमुख पुष्प वादी र आठबीसकोट नगर प्रमुख रवि केसी किसानलाई राहतको माग गर्न मन्त्रालय पुग्नुभएको हो । हिजो भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पुगेर मन्त्री भिमप्रकाश शर्मालाई आफ्नो पालिकामा हावाहुरीले गरेको क्षेतिको विवरण पेश गर्दै राहत माग गरेको चौरजहारी नगर प्रमुख पुष्प जानकारी दिनुभयो ।
उहाँका अनुसार कृषि सहकारी मन्त्री शर्मासंग भेटघाटसंगै पालिकाका सबै वडामा हावाहुरीले क्षेति गरेको बारेमा छलफल समेत गरिएको थियो । मन्त्री शर्माले मन्त्रालयको बैठक बसेर तत्काल मन्त्रालयबाट सकेको राहत उपलब्ध बनाउने आश्वासन दिएको नगर प्रमुख वादीले बताउनुुभयो । कृषि विकास कार्यालका अनुसार केही दिन अगाडि आएको हावाहुरीले रुकुुम पश्चिममा झण्डै साडे १० करोड बराबरको क्षेति भएको विवरण उल्लेख गरेको छ । निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले लिल्लाभर १० करोड २९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ बराबरको मकैबाली क्षेति भएको बताउनुभयो ।
केही दिन आगाडी हावाहुरी सहितको वर्षाले जिल्लाका ६ वटै स्थानीय तहमा क्षेति गरेको छ । जिल्लामा यो वर्ष कुल ३ हजार ३ सय २५ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ । सोही क्षेत्रफलमा गत वर्ष ८ हजार ३ सय १३ दशमलव ४ मेट्रिकटन उत्पादन भएको थियो । कुल खेती गरिएको मध्ये ५२ प्रतिशत मकैबालीमा हावाहुरीले क्षति पुर्याएको कृषि विकास कार्यालयका निमित्त प्रमुख केसीले बताउनुभयो ।