Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकामा विद्यालय बन्द भएनन्  
शितल माध्यमिक विद्यालयमा पठन पाठन हुँदै ।

उच्च गतिमा वायू प्रदुषण फैलिएको र यसले विद्यार्थीहरुको स्वास्थ्यमा समस्या पर्न सक्ने भन्दै संघीय सरकारले आज देखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेपनि रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भने विद्यालय बन्द भएका छैनन् । चौरजहारीमा विद्यालय चलिरहेका छन् । संघीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेपनि चौरजहारीले विद्यालय बन्द नगरी नियमित पठन पाठन संचालन गर्न निर्देशन दिएको छ । प्रदुषणको असर नभएको र कोरोना भाईरसका कारण लामो समय पठन पाठन बन्द भएका कारण विद्यालय बन्द नगर्न नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय द्धारा वायुमन्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूलक असरका कारण विद्यालयहरु २० गतेसम्म बन्द हुने सूचना जारी भएता पनि यस नगरपालिकाभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्न गराउन निर्देशानुसार सुचित गरिन्छ’  नगर शिक्षा शाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै राष्ट्रपति रनिङ शिल्ड संचालनका क्रममा पनि केहि दिन विद्यालय बन्द गर्नुपरेकाले पठन पाठन थप प्रभावित भएको र अहिले फेरी विद्यालय बन्द गर्दा झनै प्रभाव पर्ने नगर प्रमुख विशाल शर्माले बताउनुभयो । संघीय सरकारले भने जसरी नगरमा प्रदुषण नभएकाले विद्यालय बन्द गर्न उपयुक्त नभएको उहाँको भनाई छ । सबै विद्यालयहरुलाई नियमित रुपमा विद्यालय संचालन गर्न भनिएको उहाँले बताउनुभयो । जिल्लाका ६ स्थानीय तह मध्ये ५ वटामा भने विद्यालय बन्द रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update