नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा सी गार्डेन रेष्टुरेन्ट संचालनमा ल्याएको छ । खलंगाको त्रिवेणी चोकमा आज बिहान रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले रेष्टुरेन्टको उद्घाटन गर्नुभयो । पार्टीको आत्मनिर्भर नीति अनुरुप रेष्टुरेन्ट संचालनमा ल्याइएको पार्टीले जनाएको छ । पार्टी कार्यकर्तालाई आत्मनिर्भर बनाउने पार्टी नीति अनुरुप रेष्टुरेन्ट संचालन गरिएको सी गार्डेन बोर्डका सदस्य हरि सि ले जानकारी दिनुभयो ।
यो रेष्टुरेन्ट संचालनको नेतृत्व सी गार्डेन बोर्डका सदस्य चन्द्र सी ले गर्नुहुने छ । रेष्टुरेन्ट संचालनका लागि पार्टीले कार्यविधि निर्माण गरेको र सोही अनुसार संचालन हुने बोर्ड सदस्य चन्द्र सी ले बताउनुभयो । उहाँका अनुसार यो राप्तीको पहिलो शाखा तथा देशभरको दोस्रो शाखा हो । यसअघि पार्टीले झापाको वृतामोडमा रेष्टुरेन्ट चलाइरहेको बताइएको छ । रेष्टुरेन्टमा खाना, खाजा लगायत विभिन्न परिकार पाइने पार्टीको भनाई छ ।
रेष्टुरेन्टको उद्घाटन गर्दै रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले पार्टीकै नेतृत्वमा व्यवसाय सुरु हुनु नौलो र उदाहरणिय रहेको बताउनुभयो । राजनीतिक दलले आत्मनिर्भरताका कुरा मात्र गरिरहेको अवस्थामा नेकपाले थालेको यो अभियान सबैका लागि अनुकरणिय रहेको उहाँको भनाई छ । यो समय कुरामा भन्दा पनि व्यवहारमा आत्मनिर्भर हुनुपर्ने रहेको उहाँले बताउनुभयो । यो रेष्टुरेन्टले जिल्लाको व्यवसायमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै अध्यक्ष खड्काले व्यवसाय सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।