नेपालीमा एउटा उखान छ नजिकको तीर्थ हेला ! त्यसकै उदाहरण हो स्यार्पू ताल । नजिकै भएर पनि सबैको हेलामा परेको छ स्यार्पू । रुकुम पश्चिमको स्यार्पू ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल हो । सदरमुकाम मुसिकोटसँग जोडिएको बाँफिकोट गाउँपालिकाको वडा नम्बर तीन र पाँचमा फैलिएको यो ताल विशेष गरी बर्खायाममा हेर्न लायक हुन्छ । २ दशमलव ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पू तालको आकार भने बर्खा र हिउँदमा फरक हुन्छ । हिउँदको तुलनामा बर्खामा तालको आकार झन्डै दोब्बर बढी हुन्छ । जेठ अन्तिम र असार पहिलो साताबाट भरिन सुरु गरेको ताल श्रावणको मध्यतिर आइपुग्दा पुरा भरिन्छ । भरिभराउ ताल भाद्र देखि असोज महिना भरी अवलोकनका लागि उपयुक्त मानिन्छ । त्यसपछि तालको आकार बिस्तारै घट्दै जान्छ । हिउँदमा पनि ताल रमणीय देखिन्छ । बजारको कोलाहल, हिलो, धुलो र धुवाँको सामना गरिरहेकालाई घुमघाम तथा रिफ्रेसका लागि यो ठाउँ उपयुक्त छ ।
तालको सुन्दरता अवलोकन गरेर दुःखलाई भुलाउन सकिन्छ भने आफैले बोटिङ गरेर मजा लिन सकिन्छ । परम्परागत काठका डुङ्गा विस्थापित गरेर ताल अवलोकनका लागि आउनेहरूका लागि आधुनिक ढुङ्गाको व्यवस्था छ । धित मरुन्जेल बोटिङको मजा लिन सकिन्छ । विशेष गरी तालबाट काठका डुङ्गा विस्थापित गरेर आधुनिक डुङ्गा राखिनु तथा खान र बस्नका लागि होम स्टेईहरु सञ्चालन गरिनुले यहाँ घुम्न आउँनेहरुको सङ्ख्यामा वृद्धि भएको डुङ्गा सञ्चालकहरू बताउनुहुन्छ । मान्छेहरू छुट्टी मनाउनका लागि समेत आउने गरेका छन् । ताल हेर्न आएकाहरू ढुङ्गा नचढी फर्किदैनन् । तालमा आधुनिक ढुङ्गा राख्दा आगन्तुकको सङ्ख्या देखिन्छ ।
पहाडको टुप्पोबाट बगेर आउने पानी तालमा मिसिने भएका कारण यहाँ स्नान गर्दा स्वास्थ्यका लागि फाइदाजनक रहेको पनि स्थानीयको विश्वास छ । जडीबुटी सहितको पानी तालमा मिसिने स्थानीय बताउँछन् ।
वेवास्तामा स्यार्पू
आवश्यक प्रचार तथा ठोस योजनाको अभावमा अहिले पनि धेरै मानिसहरू स्यार्पू तालका बारेमा अनभिज्ञ छन् । पर्यटनको प्रचुर सम्भावना भए पनि यहाँको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरू मौन बस्दा स्यार्पूताल गुमनाम छ । केही न केही गतिविधि गरेर प्रचार प्रसारको प्रयास गरिए पनि ठोस योजना बनेको छैन । बर्सेनि विभिन्न शीर्षकमा प्रदेश तथा सङ्घ सरकारबाट बजेट आइरहेको छ । स्थानीय तहको पनि बजेट केन्द्रित छ । तर ठोस गुरुयोजनामा भने काम भएको पाइदैन् । संरक्षणका नाममा ठुलो रकम खर्च हुँदा पनि ठोस काम भने भएको देखिदैन् । अझ संरक्षणका नाममा भएका कामले तालको अस्तित्वलाई जोखिममा पारेको छ । ताल सङ्कटमा पर्दै गएको छ ।
तालको संरक्षण र प्रचारका लागि ठोस योजनामा काम गर्नुपर्ने जानकारहरू बत्ताउँछन् । पर्यटनको क्षेत्रमा काम गर्ने पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमका संस्थापक सचिव गोपाल केसी स्यार्पूको पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले मुख्य तीन कुरामा ध्यान दिनुपर्ने बताउनुहुन्छ । सर्वप्रथम गुरुयोजना निर्माण, स्यार्पू तालका लागि आएको बजेटलाई पारदर्शी बनाउने र उक्त बजेटलाई उत्पादन मूलक कार्यक्रममा खर्च गर्नुपर्नेमा उहाँको जोड छ । यति गर्न सकेमा स्यार्पूको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उहाँको विश्वास छ । अहिले सरदरमा दैनिक ३० बढी आन्तरिक पर्यटक स्यार्पू ताल अवलोकनका लागि पुग्छन् । वार्षिक ५० बढी विदेशी पर्यटक पनि ताल अवलोकनका लागि पुग्ने गरेको बताइन्छ ।
कसरी पुग्ने ?
स्यार्पूताल पुग्नका लागि सदरमुकामबाट धेरै सडकको प्रयोग गर्न सकिन्छ । पैदल हिँडेर पनि तालमा पुग्न सकिन्छ । मुसिकोट खलङ्गाबाट करिब २० किलोमिटर दुरी पार गरेपछि स्यार्पू पुग्न सकिन्छ । सदरमुकाम मुसिकोट खलङ्गाबाट नियमित दैनिक बाँफिकोटका लागि जिप लाग्छन् । बाह्रै मास यातायातको सुविधा छ । रिजर्भ तथा आफ्नै गाडी वा मोटरसाइकल लिएर सिधै स्यार्पू ताल पुग्न सकिन्छ । तालसम्मै यातायातको पहुँच छ । सदरमुकाम मुसिकोटबाट गाडीमा करिब दुई देखि अढाई घण्टाको बिचमा स्यार्पू पुग्दा पैदल भने करिब चार घण्टा बढी लाग्छ । यात्रा त्यति धेरै महँगो पनि छैन । जिल्ला सदरमुकाममा विभिन्न जिल्लाबाट स्थल तथा हवाई मार्गबाट आउन सकिन्छ ।