Kakhara सबैको खबर सम्पूर्ण खबर
म नतमस्तक छु बा !

कुनै एक शिशु हुर्किँदै गर्दा उसको वृद्धि विकासको कोसेढुङ्गाअन्तर्गत ६ महिनाको समयमा पहिलोपटक उच्चारण हुने शब्द हो "बा" ।

जुन शब्द आफैँमा विशेष अनि अर्थपुर्ण छ। 'बा'का बारे लेख्न शब्दकोषका पुरै शब्दहरु खर्चे पनि अपुर्ण नै रहन्छ। 'बा'बारे लेख्न खोज्ने  यो पहिलो दुस्साहस !  

संघर्षै संघर्षको जिन्दगीमा 
सन्तानका अभावहरु पूरा गर्न
कैयौँ घुम्ती,कैयौँ मोडहरुमा
तपाईँले कहाँ कहाँ मात्रै रित्तिनुपरेन होला र ?

काँडैकाँडाबीचको सफरमा
आफ्ना फुलजस्ता नानीहरुलाई 
आफुले भोगेको जस्तै समय भोग्नु नपरोस् भनेर
तपाईंले कहाँ कहाँ मात्रै दुख्नु परेन होला र?

पीडा र तनावको भुमरीबाट
भोलिका सपनाहरु जोगाउँ भन्दा
कैयौँ डेउडी,कैयौँ चौतारीहरुमा
तपाईंले कहाँ कहाँ मात्रै रुनु परेन होला र?

थेग्नै नसकिने जिम्मेवारी बोकेर
आफू सम्हालिएर अनि घर समालेर
हामीले बोक्नुपर्ने जिम्मेवारीको भारी हलुका होस् भनेर
तपाईंले  कहाँ कहाँ मात्रै पुग्नु परेन होला र?

स्वार्थै स्वार्थको दुनियाँमा
निस्वार्थ,निष्पक्ष ढंगले लम्किँदा
पाइला-पाइलामा,सेकेन्ड-सेकेन्डमा
तपाईँले कहाँ कहाँ मात्रै हेपिनुपरेन होला र?

तथापि हजुरका पाइलाहरु
कतै नहडबडाइ,कतै नडगमगाइ
कसरी पो लम्किरहन्छन?
म नतमस्तक छु बा....

साथै संसार भरीको बुवाहरुमा सु-स्वास्थ्य दिर्घायुको कामना सहित बुवाको मुख हेर्न दिनको शुभकामना!!

© Rajkumar Bhujel 'साजन'

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update