रुकुम पश्चिममा पनि विभिन्न कार्यक्रम गरी ५९ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ शुक्रवार दिवसका अवसरमा जिल्लाभरिमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । सानीभेरी गाउँपालिकाको सिम्लीमा प्रभात फेरि गरिएको थियो ।
सानीभेरी गाउँपालिकाले दिवस विशेष कार्यक्रमको आयोजना गरेको थियो । यसमा प्रहरी समुदाय साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय र राप्ती ज्ञानोदय मावि पनि जोडिएका थिए । प्रभात फेरि पछि मञ्चको कार्यक्रम समेत सञ्चालन भएको थियो । बाल अधिकार सुनिश्चित गर्न सबैको हातेमालो आवश्यक रहेकोमा कार्यक्रमका सहभागीहरूले जोड दिएका थिए ।
गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बालबालिकाका लागि गाउँपालिका गम्भीर रहेको बताउनुभएको थियो । गाउँपालिकाले बालबालिकाको हकहितका लागि नीतिगत व्यवस्था गरी बजेटको व्यवस्था गरिरहेको बताउनुभएको थियो । संरक्षण विहीन, टुहुरा, अपाङ्ग लगायतका जोखिममा रहेका बालबालिकालाई गाउँपालिकाले हिजो देखि नै संरक्षण गरिरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उहाँको भनाई थियो ।
मुसिकोटमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रम भएका छन् । वडा नम्बर १३ को चौतारामा प्रदेश सभा सदस्य मिलन खड्काको उपस्थितिमा अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रम भएको छ । कार्यक्रम अघि प्रभात फेरि समेत गरिएको थियो ।
खलंगामा रहेको विजयश्वरी बोर्डिङ स्कुलले दिवसका अवसरमा विभिन्न प्रतियोगिता सञ्चालन गरेको छ । प्री प्राइमरी तह, कक्षा १–३ तह, कक्षा ४–६ तह र कक्षा ७ –१० तह विभाजन गरी प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय प्राङ्गणमा आयोजित प्रतियोगिताका विजेतालाई विद्यालय सञ्चालक तथा प्रिन्सिपल जयबहादुर थापाले साँस्कृतिक रूपमा धनी हाम्रो देशको परम्परा र संस्कृतिलाई जोगाउनका लागि यस्ता कार्यक्रमहरूले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले समाजका विभिन्न विकृति र विसङ्गतिबाट बालबालिकालाई बचाउनु अहिलेको सबैभन्दा ठुलो चुनौती रहेको बताउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन विद्यालय सहायक प्रशासक होमराज शाहीले गर्नुभएको थियो । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको न्यु मुन लाइट बोर्डिङ स्कुलले प्रभात फेरि सहित विभिन्न कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएको प्रिन्सिपल खडक कँवरले जानकारी दिनुभयो ।
शेरिगाउँमै रहेको यमुना नन्द नमुना माविले पनि बाल दिवस मनाएको छ । प्रभात फेरि र वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको विद्यालयले जनाएको छ । मुसिकोट ६ सोलावाङमा रहेको मुसिकोट एकेडेमीमा पनि विभिन्न कार्यक्रम भएका छन् । जिल्लाका अन्य ठाउँमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू सञ्चालन भएका छन् ।